बाँकेमा असारमा मात्रै ६४ फरार प्रतिवादी पक्राउ

बुधबार, साउन २, २०८१

बाँके । जिल्ला प्रहरीले बाँके असार महिनाभर ६४ जना फरार प्रतिवादीलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएको छ। बाँके प्रहरीले  ३ वर्ष ३ महिना ११ कैद र ३ लाख १३ हजार ७२७ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने भएका ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै असार मसान्तसम्म प्रहरीले ८५ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान, अवैध तस्करीमा प्रयोग भएको एउटा भ्यान र ३ वटा मोटरसाईकल बरामद गरि आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।

अवैध तस्करी रोक्ने क्रममा बाँके प्रहरीले अबैध रुपमा भारतबाट ल्याइएको १ लाख ६० हजार रुपैयाँको ब्रोईलर कुखुराको चल्ला बरामद गरेर पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जमा बुझाएएको जनाएको छ।

त्यस्तै बाँकेभर गरिएको ट्राफिक कारबाहीतर्फ २७५४ वटा सावरीसाधनलाई कारवाही गर्दै असारभर २१ लाख ४९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ।

प्रहरीले असारमा दर्ता भएका १४५ वटा मुद्दामा ९१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ भने ५४ वटा पेन्डिङ भएका मुद्दालाई फर्छ्यौत गरेको हो।

असारभर प्रहरी कार्यालयमा परेको ठाडो उजुरीतर्फ  ४२४ वटा मुद्धा प्राप्त भएको ३५२ फर्छ्यौत भएकोमा १० वटा सम्बन्धित निकायमा पठाईएको र ६२ वटा बाँकी निबेदन फर्छ्यौत प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँँगीले बताए ।

लागुऔषध ओसारपसारबिरुद्धको अपरेसनमा बैंक प्रहरीले २५ ग्राम ९४० मिलिग्राम ब्राउनसुगरसहित १७ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएको हो।

बाँके प्रहरीले २०८१-०३-३० गते नेपालगन्ज-४ स्थित आफ्नै घरबाट हराएको मोटरसाईएकल फेला पार्दै सम्बन्धित सवारी धनीको जिम्मा लगाएको जानकारी दिएको छ भने  हराएका १५ थान मोबाईल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको हो। त्यस्तै प्राचीन स्मारक (बुद्धको मुर्ती) सहित ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको डीएसपी डाँँगीले जानकारी दिएका छन् ।

महिला तथा बालबालिका सम्बन्धि मुद्धातर्फ असारभर बाँके प्रहरीमा १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको हो।  घरेलु हिंसातर्फ   ७० वटा उजुरी प्राप्त भएकोमा ४६ वटा फर्छ्यौत भएको र बाँकी अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ।

जिल्ला प्रहरी बाँकेले असारमा मात्रै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीकको निवेदनतर्फ  ३४  प्राप्त भएकोमा १४ जना फेला पारी परिवारको जिम्मा लगाएको तथा बाँकीहरुको खोजतलास जारी रहेको जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्