नेविसंघको अध्यक्ष हुँदै संसदको पहिलो इन्ट्रीमै प्रदीप पौडेल स्वास्थ्यमन्त्री

सोमबार, असार ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रदीप पौडेल नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाउँँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै  प्रतिनिधि सभाको पहिलो कार्यकालमै मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

२०३१ साल चैतमा तनहुँ जिल्लामा जन्मिएका पौडेल विद्यार्थी राजनीतिबाट उदाएका हुन् । २०५३ सालमा अमृत साइन्स क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनका सभापति भएर गर्बिलो इतिहास बनाएका थिए । त्यतिन्जेल कुनै पनि नेविसंघको उम्मेदवारले अमृतमा नेतृत्व लिन सकेको थिएन । 

त्यसो त निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध सानैदेखि सुक्ष्म अवलोकन गर्न पाएका पौडेलले स्कुले जीवनमा नै आफूलाई राजनीतिमा समाहित गराए । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदा पौडेल सिद्धार्थ वनस्थलीमा ९ कक्षामा अध्ययनरत थिए । उमेरले १५ वर्ष मात्र पुगेका थिए उनी र तर प्रजातन्त्रका लागि आन्दोलनमा उत्रिँदा पञ्चायती शासकले उनको आँट, साहस, हिम्मत र चुनौतीलाई देखेर हिरासतमा लियो ।

देशमा लोकतन्त्र र प्रजातन्त्रको आवश्यकता किन छ भन्ने स्पष्ट बुझेका र यसलाई प्राप्त गर्न आफूले जस्तोसुकै योगदान गर्न तयार भइसकेको उनले त्यति बेला नै दृढ अठोट लिए । त्यसैले पनि जब प्रदीप अमृत साइन्स क्याम्पसमा अझ बोल्ड भएर प्रजातान्त्रिक संगठनको विकास र निर्माणमा लागिपरे । 

अमृत क्याम्पसमा स्वतन्त्रता पक्षधर विद्यार्थीमाथि भइरहेको थिचोमिचो पौडेललाई सह्य थिएन, यसकोविरुद्ध उनले आवाज उठाउन थाले । आफूलाई विद्यार्थीको आडभरोसाको रुपमा विकास गरे ।

फलतः २०५३ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अमृत साइन्स कलेजमा उनले सभापतिमा विजयी भएर गर्विलो इतिहास बनाए । 

अखिलको किल्ला भनेर चिनिने अमृत साइन्स कलेजमा प्रदीपको विजय र आँट, विश्वास र दृढताको प्रशंसा हुन थाल्यो । विद्यार्थीहरुको उनीमाथि आशा थप बढ्न थाल्यो ।

सुसंस्कृत राजनीतिको वकालत गर्दै आएका प्रदीप खासमा नेपाल विद्यार्थी संघका अमूल्य गहना बनिसकेका थिए । उनले २०५७ सालदेखि २ वर्ष नेविसंघको केन्द्रीय समितिमा सदस्य रहेर थप काम गरे।

२०५९ सालपछि २०६४ सालसम्म उनी तीन पटक नेविसंघको उपाध्यक्ष भए । नेविसंघको विकास र संगठनात्मक सुधारमा महत्वपूर्ण भूमिका खेले । २०६२–६३ सालको जनआन्दोलनमा आफूमात्र सक्रिय रुपमा सहभागी भएनन् । 

प्रदीपले विद्यार्थीहरुलाई संगठनात्मक रुपमा अगाडि बढाए । निरंकुश राजतन्त्रको विरोधमा आवाज उठाए, परिवर्तनको पक्षमा जीवन आहुति दिन तयार भए । विडम्बना, निरंकुश राजतन्त्रका पक्षधरहरुले प्रदीपलाई आन्दोलनको मोर्चाबाट पक्राउ गरे ।

११ महिना जेल जीवन बिताउन उनी बाध्य भए । त्यतिबेला १७ दिन भद्रगोल जेलमासमेत बिताएका प्रदीप नै यो परिवर्तनमा सबैभन्दा लामो जेल जीवन बिताएका त्यति बेलाका विद्यार्थी नेता हुन् ।

नेपालमा शाही शासनको अन्त्य भयो, गणतन्त्रको शुरुआतमा नेपाली कांग्रेसको भरपर्दो विद्यार्थी संघ नेविसंघमा थप सुधार र परिमार्जन, परिवर्तन र परिस्कार आवश्यक थियो ।

यी आवाजलाई सम्बोधन गर्न सक्ने भएकाले नै हुनुपर्छ। चितवनमा भएको नेविसंघको २०६५ सालको महाधिवेशनबाट प्रदीप नेविसंघ अध्यक्षमा निर्वाचित भए ।

नेविसंघलाई अध्यक्षका रुपमा ३ वर्ष ७ महिना चुस्तदुस्त, क्रियाशील, सांगठनिक रुपमा बलियो बनाएका प्रदीपले सार्वजनिक विद्यालय सुधार अभियान, एक विद्यालय एक पुस्तकालय तथा ईलाइब्रेरीजस्ता अभियान शुरु गरे जसले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन ठूलो भूमिका खेलेको छ।

नेविसंघमा उनले गरेको काम कस्तो थियो भने नेपाली कांग्रेसका नेताहरु पनि यसबाट निकै प्रभावित भएका थिए । यही प्रभावका कारण पनि तत्कालीन नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले प्रदीपलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा सदस्यका रुपमा मनोनित गरे ।

त्यसपछि अनवरत रुपमा पार्टीको सांगठनिक, वैचारिक, परिवर्तनकारी भूमिकामा उल्लेख्य योगदान गर्दै आएका प्रदीप पौडेललाई कांग्रेसीजनले कति रुचाएका छन् भने उनी १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदा सबैभन्दा बढी मत ल्याउने शीर्ष ६ मा परे । 

त्यसयता सम्पूर्ण समय पार्टीका विभिन्न समितिहरुमा रहेर पार्टीको उत्थानका लागि खर्चिएका छन् प्रदीपले । नेपालमा विनाशकारी महाभूकम्प जाँदा तत्काल उद्धारमा उत्रिन होस् या कोरोना भाइरसका कारण समाजलाई आवश्यक पर्दा स्वास्थ्य सामग्री उपलब्ध गराएर आइसोलेसन सेन्टर निर्माण गरेर किन नहोस्, पौडेल पूर्ण रुपमा कांग्रेस र नेपाली समाजका लागि समर्पित छन् ।

त्यही स्वास्थ्यमा गरेको योगदान अहिले सत् सावित भएको छ । उनी स्वास्थ्य मन्त्री भएका छन् । उनले आफ्नो कार्यकालमा सम्पूर्ण नेपालीको हितका लागि सर्वसुलभ र सहज स्वास्थ्य उपचार पहुँचका लागि हरसम्भव प्रयास गर्नेमा दुईमत नहोला । 

त्यसो त परम राजनीतिकर्मी एवं कांग्रेस महामन्त्री गगनकुमार थापा यसअघि नै स्वास्थ्य मन्त्री भइसकेकाले उनको सल्लाह र सुझाव प्रदीपका लागि महत्वपूर्ण हुन सक्छ । 

प्रदीपले १३ औँ महाधिवेशन यता गरेका केही कामहरुलाई बुँदागत रुपमा हेरौँ– 

–नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा रही प्रभावकारी भुमिका निर्वाह गरेको

–नेपाल विद्यार्थी संघको २०७३ सालमा अधिवेशन गराउन समन्वय तथा सहजीकरण

–नेपाल महिला संघको २०७३ सालमा अधिवेशन गराउन समन्वय तथा सहजीकरण 

–विभिन्न तहमा आयोजित कार्यकर्ता प्रशिक्षमा प्रशिक्षक एवम् सहजकर्ताको भुमिका निर्वाह गरेको

–नेपालका सम्पुर्ण जिल्लाहरुको भ्रमण गरी आम युवा तथा जनताहरुमा नेपाली कांग्रेस तर्फ आकर्षित गर्न विभिन्न आम सभा सम्बोधन, भेटघाट तथा पार्टी प्रवेश गराउन उत्प्रेरणा तथा सहजीकरण गरेको ।

–१४ औँ महाधिवेशनको प्रारम्भिक कार्यका रुपमा रहेको तर अत्यन्त विवादित भएको क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्नका लागि गठित क्रियाशिल सदस्यता समाधान समितिमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेको 

–१४ औँ महाधिवेशनमा महामन्त्रीका उमेदवार

–केन्द्रीय सदस्य मनोनित 

–२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट विजयी ।

प्रदीप पौडेलले नेतृत्व, सहजीकरण वा समन्वय गरेका केहि सामाजिक कार्यक्रमहरुः 

शैक्षिक अभियान -

“एक विद्यालय – एक पुस्तकालय” अभियान

 “सार्वजनिक विद्यालय सुधार” अभियान

“हरेक विद्यालय इन्टरनेट सेवा एवं ई–लाईबेरी” अभियान 

 शैक्षिक गुणस्तर वृद्दिको निम्ति दर्जनौँ कार्यशाला र गोष्ठी संचालन

हजारौँ गरिब जेहेन्दार विद्यार्थीको लागि निःशुल्क छात्रवृत्ति र शैक्षिक सामग्रीको प्रबन्ध 

सामाजिक अभियान -

विभिन्न जिल्लामा युवा तथा विद्यार्थीहरुसहित पुगी २०७२ को भुकम्पबाट आहत जनताहरुलाई राहत पुर्याउन तथा अस्थायी बसोबास व्यवस्थापनमा सहयोग, १७०० बढी अस्थायी टहरा र एक विद्यालयको पक्की भवन निर्माण ।

तराई लगायतका बाढी तथा पहिरोबाट पिडित जनताहरुलाई राहत पुर्याउन सहयोग र युवा परिचालन तथा उद्धार । 

आगलागीबाट पिडित समुदायलाई राहत पुर्याउन सहयोग,

कोभिड १९ महामारीमा क्वारेन्टाईन तथा ३०० आईसोलेसन कक्ष संचालन गरी कोरोना प्रभावित जनताहरुलाई सहयोग पुर्याएको । कोभिड संक्रमितलाई रगत अभाव हुन नदिन तथा सहज तरिकाले प्राप्त गर्न प्लाज्मा एपको निर्माण । 

जाजरकोट जिल्लामा गएको भूकम्पमा पार्टीको तर्फबाट १००० टहरा निर्माणका लागि नेतृत्व 

युवालाई उद्यमशिलतासँग जोड्न युथ इन्टरप्रेनरशिप क्याम्पेन २०७१ 

प्रविधि मैत्री कांग्रेस निर्माणका लागि डिजिटल कांग्रेस एपको निर्माण ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्