त्रिशुलीमा बेपत्ता दुबै बसमा ६५ यात्रु रहेको पुष्टि, आज बिहान भेटियो चौथो शव

आइतबार, असार ३०, २०८१
Neuro hospital Nepalgunj

चितवन । शुकवार बिहान साढे ३ बजे पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका दुई यात्रुबाहक बसमा ६५ जन यात्रु रहेको पुष्टि भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको  बसमा समितिको चलानीमा २७ रहेको पाइएको छ। उक्त बसमा सवार ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् । उनीहरुको बीचबाट चढेको बताइएको छ।

यसैगरि बीरगञ्जबाट काठमाण्डौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुबै बसमा गरेर थप १५ यात्रु बसमा यात्रारत रहेको देखिएको हो ।

चितवन प्रहरीका अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो आफन्तले बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । बेपत्ता र्हेको काठमाडौंबाट गौर जान जाँदै  गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् ।

आफन्तहरुले टिपाएको विवरणसमेतलाई जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको नोटमा उल्लेख गरिएको छ ।

बेपत्ता भएका दुबै बसमा सवार ६५ यात्रु नै रहेको तर ३ जना पौडीएर बाँचेको र शनिबार ३ जना र आज बिहान १ जनाको शव गरि ४ जनाको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ। आज बिहान फेला परेको शवको अझै पहिचान हुन नसकेको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गैंडाकोटको नारायणी नदी किनारमा भेटिएको तेस्रो शव माडी–१ का २२ वर्षीय विकास परियार रहेको प्रहरीले जानकारी दिएको छ। विकासको शवलाई उनका दाइ विजय परियारले पहिचान गरेका थिए। चितवन प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए। 

त्यस्तै गैंडाकोटमै फेला परेको शव रौतहट सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कुशर माझीको भएको प्रहरीले जनाएको छ। शनिबार साँझ नै रमितका बुवा रविन्द्र कुशर माझीले रमितलाई सनाखत गरेको चितवन प्रहरीले जानकारी दिएको छ। 

मृतक रमित शुक्रवार बिहान साढे ३ बजे पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएका दुई बस मध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।

त्यसैगरि शनिबार बिहान नारायणी नदीको गोलाघाटमा फेला परेको शव भारतको बिहार सितामणीको जमुवाका २८ वर्षका ऋषिपल साह रहेको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ।

ऋषिपाल त्रिशुली नदीमा बेपत्ता भएको काठमाडौंबाट गौर जाने प्रदेश ०३-००१ख२४९५ नम्बरको बसमा सवार थिए।अन्य यात्रु र दुबै बसको आज बिहानैदेखि पुनः खोजीकार्य सुरु भएको चितवन प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्