गैंडाकोटमा फेला परेको अर्को शव वीरगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु रहेको पुष्टि, योसंगै ३ जनाको पहिचान

आइतबार, असार ३०, २०८१
Neuro hospital Nepalgunj

चितवन । शनिबार पूर्वी नवलपरासीको गैंडाकोट नारायणी किनार  र चितवनको गोलाघाट नारायणी नदी किनारमा फेला तीन वटै शवको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैंडाकोटमा फेला परेको तेस्रो शवको पनि पहिचान खुलेपछि तीनवटै शव त्रिशुली बेपत्ता भएका बसमा सवार यात्रु रहेको पुष्टि भएको छ।

गैंडाकोटको नारायणी नदी किनारमा भेटिएको तेस्रो शव माडी–१ का २२ वर्षीय विकास परियार रहेको प्रहरीले जानकारी दिएको छ। विकासको शवलाई उनका दाइ विजय परियारले पहिचान गरेका थिए। चितवन प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए। 

त्यस्तै गैंडाकोटमै फेला परेको शव रौतहट सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कुशर माझीको भएको प्रहरीले जनाएको छ। शनिबार साँझ नै रमितका बुवा रविन्द्र कुशर माझीले रमितलाई सनाखत गरेको चितवन प्रहरीले जानकारी दिएको छ। 

मृतक रमित शुक्रवार बिहान साढे ३ बजे पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएका दुई बस मध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।

त्यसैगरि शनिबार बिहान नारायणी नदीको गोलाघाटमा फेला परेको शव भारतको बिहार सितामणीको जमुवाका २८ वर्षका ऋषिपल साह रहेको पुष्टि भएको चितवन प्रहरीले जानकारी दिएको छ।

ऋषिपाल त्रिशुली नदीमा बेपत्ता भएको काठमाडौंबाट गौर जाने प्रदेश ०३-००१ख२४९५ नम्बरको बसमा सवार थिए।

अन्य यात्रु र दुबै बसको आज बिहानैदेखि पुनः खोजीकार्य सुरु भएको चितवन प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्