बाँके जिल्ला पर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

आइतबार, असार ३०, २०८१

नेपालगञ्ज । बाँके जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्ला खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगञ्जमा शनिबार  एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।  । बाँकेका ८ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

जिल्लाका जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चित भएपछि बाँकेलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खोजपड्ताल गर्दा जिल्लामा कुनै पनि खोप नलगाएका १६ देखि ५९ महिनाका ८५ जना तथा आंशिक खोप मात्र लगाएका ८५१ बालबालिका भेटिएकोमा ती सबैलाई खोपको मात्रा पूरा गरिएको छ । त्यस बाहेक नियमित खोप लगाउनुपर्ने बच्चाले पनि पूर्ण खोप पाएको सुनिश्चितता गरिएको छ । घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायत स्वास्थ्यकर्मी, सरोकारवालाको उपस्थिति थियो।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रत्येक वर्ष माघ र फाल्गुन महिनामा खोज र खोप अभियान तथा घरधुरी सर्वेक्षण गरिन्छ । त्यसपछि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले खोप लगाउन सुरु गरे नगरेको नामावली सूचीकृत गरिन्छ र १६ देखि २३ महिनाका बालबालिकाहरुले पूर्ण खोप पाए नपाएको सर्वेक्षण गरी छुटेका सबै बालबालिकालाई वैशाख महिनामा पूर्ण खोप दिएपछि वडा हुँदै सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पनि गरिन्छ ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्