पोखरा पहिरो अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो

शुक्रबार, असार २८, २०८१
Neuro hospital Nepalgunj

पोखरा । पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ।जिल्ला प्रहरी कास्कीका अनुसार  पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका  सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ ।

गएराति  टारीका कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार छन् ।

विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ।

यस्तै, पोखरा ३२ चैनपुरमा आरती ओझाको घर पुरिँदा उनकी छोरी १८ वर्षीय अनिता ओझा, अर्को छोरी ११ वर्षकी अनुष्का ओझा र दाइको छोरा प्रतीक सुवेदीको मृत्यु भएको छ । आरती उद्धारका क्रममा घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उता, मादी गाउँपालिका ११ को तल्लो ताप्लेमा ८० वर्षकी माइती कुमारी गुरुङको मृत्यु भएको छ । ५५ वर्षका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको छ । घटनास्थल टाढा भएको र विकटमा रहेकोले समयमा उद्धार गर्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

‘ठाउँहरू विकट र टाढा छन् । उद्धारका लागि पर्याप्त समय भएन,’ उनले भने, ‘अहिले सबै ठाउँमा स्थानीय प्रहरी पुगिसकेका छन् । सकेजति उद्धार गरिएको छ ।’ अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्