लगातारको वर्षाले डुबे बाँकेको नरैनापुरका दर्जनौं गाउँ

आइतबार, असार २३, २०८१

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका दुई दर्जन बढी गाउँ डुबानमा परेका छन् । तीन दिनदेखि परेको अबिरल बर्षाका कारण पालिकाका ६ वटै वडाका दुई दर्जन बढी गाउँ डुबानमा परेका हुन् । 

वडा नम्बर १ का महतिनिया, बनियागाउँ, सुइया, वडा नम्बर २ का रोशनपुर्वा, गंगापुर, मियाँपुर्वा, लक्ष्मणपुर र वडा नम्बर ३ का बालापुर, कोटिया, पचपेडवा, जनतापुर, रेतहिया, गेगली, कोदिपुर्वा लगायतका गाउँ डुबानमा परेका छन् । यस्तै वडा नम्बर ४ का नरैनापुर, घोडदौरिया, जयरामपुर्वा, खोदावा, वडा नम्बर ५ का मटेहिया, नेवाजीगाउँ, भगवानपुर, मोतीपुर, महादेवनगर तथा वडा नम्बर ६ का नयाँ बस्ती, गंगापुर, भोजपुर, कुदरबेटवा, सोनबर्षा, दोदरा लगायतका गाउँ डुबानमा परेको विपद व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।

निरन्तरको झरीका कारण महेन्द्र मावि मटेहियाको पर्खाल समेत ढलेको मिश्रले बताए । नरैनापुर पूरै जलमग्न भएको मिश्रको भनाई छ । बस्ती पानी-पानी भएको मटेहियाका स्थानीय गुरुमुरत यादवले बताए । घरभित्रै पानी पस्न थालेको अवस्था रहेको यादवको भनाई छ ।

निरन्तर झरीका कारण डुबानको जोखिम बढेकाले सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ । अध्यक्ष इश्तियाक अहमद शाहले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । उनले उद्दारका लागि सुरक्षा संयन्त्र र स्थानीय विपद समिति तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्