नागरिकको सुरक्षाका लागि लुम्बिनी प्रदेशभर सशस्त्रको विपद् व्यवस्थापनको टोली स्ट्याण्डबाइ छ:डीआईजी खत्री

आइतबार, असार २३, २०८१

नेपालगन्ज। देशभरमा परेको अविरल वर्षाका कारण आएको आएको बाढी र पहिरो जस्ता विपद्जन्य  कार्यको उद्धारमा सशस्त्र प्रहरी खटिदै आएको छ।

लगातार केही दिनदेखिको वर्षाका कारण आएको बाढीमा फसेका कयौं व्यक्तिहरुको उद्धार गर्दै पहिरोमा परेका उद्धार तथा खोजतलासमा सशस्त्र प्रहरी परिचालित छ।

आफ्नो ज्यान जोखिममा पारेर ठुला ठुला नदीको भेलमा फसेका व्यक्तिकोहरुको उद्धार समेत गर्दै बेपत्ताको शव फेला पार्दै आएको सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली अहिले अति जोखिम मानिएको लुम्बिनी प्रदेशभरका सबै जिल्लामा तयारी अवस्थामा तैनाथ रहदै आएको छ।

लुम्बिनीस्थित सशस्त्र प्रहरी बल नंं.५ विन्ध्यबासिनी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि खत्रीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न स्थानमा तयारी अवस्थामा विपद् व्यवस्थापनसहितको टोली तयारी अवस्थामा बसिरहेको बताए।

मनसुन सुरु भएदेखि नै सशस्त्र प्रहरीको निरीक्षकको कमाण्डमा अति जोखिम जिल्लाका स्थानहरुमा विपद् व्यवस्थापनको टोली उद्धारका लागि तयारी हालतमा बस्दै आएर कयौं स्थानमा सयौं जनाको उद्धार समेत गरिसकेको डीआईजी खत्रीले भने। उनले भने-" आवश्यकताका आधारमा विशेष गरेर दाङ हुँदै बग्ने राप्ती नदीका लागि दाङ र बाँकेमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापनको टोली स्ट्याण्डबाइ बस्दै आएको छ।"

सशस्त्र प्रहरी बल विन्ध्यबासिनी बाहिनीले  लुम्बिनी प्रदेशको पूूर्वी जिल्ला पश्चिम नवलपरासीको सुस्ता, सेमरी र परासीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापनको टोलीले परिचालन गरिसकेको छ। त्यस क्षेत्रमा नारायणी नदीले बितन्डा मच्चाउन सक्ने सम्भावना छ।

त्यसैगरि रुपन्देही जिल्लाको भैरहवा र बुटवलमा पनि विपद् व्यवस्थापनको तैनाथ भइसकेको छ भने कपिलवस्तुको पिपरामा बाणगंंगा नदीले प्रभाव पार्न सक्ने हुँदा राजमार्ग सुरक्षाका लागि त्यहाँ पनि टोली परिचालन गर्दै सदरमुकाम तौलिहवामा पनि निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनको टोली तैनाथ रहेको डीआईजी खत्रीले बताए।

वितन्डा मच्चाउदै आएको दाङको राप्ती नजिक रहेको सशस्त्र प्रहरी बल नंं.२९ गणमा र लमहीको नंं.४१ रिजर्भ गणमा विपद् व्यवस्थापनसहितको टोली तयारी अवस्थामा छ। शनिबार मात्रै राजपुर गाउँपालिका र लमहीका गरि दुई जना बेपत्ता भएर आज सशस्त्र प्रहरीले उनीहरुको शव फेला पारेको थियो। सशस्त्र प्रहरी राप्ती किनारका धेरै जसो जोखिम स्थानमा गस्ती गर्दै तयारी हालतमा रहेको खत्रीले जानकारी दिएका छन् ।

दाङको घोराहीमा खहरे खोला र बबई नदी र तुलसीपुरमा पनि खहरे खोला र सितलपुरदेखि पश्चिममा  बबई नदीबाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा रहेर उद्धारका कार्य गर्दै अएको छ।

सशस्त्र प्रहरीले बाँकेले राप्तीसोनारीको शम्शेरगन्ज, नरैनापुरको गंंगापुर र नेपालगन्जमा निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापनसहितको टोलीले तयारी अवस्थामा राखिसकेको डीआईजी खत्रीले बताए। विशेष गरेर बाँकेमा राप्तीसोनारीको पश्चिम भेगमा राप्ती नदीले असर गर्न सक्ने भन्दै त्यहा शम्शेगन्जस्थित नंं.४१ रिजर्भ गणले हेर्ने व्यवस्था मिलाइएको छ भने डुडवा गाउँपालिकाको दक्षिणी भेगलाई नेपालगन्जस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले र नरैनापुरलाई गंंगापुरमा रहेको टोलीले हेर्ने उनले बताए। 

केही त्यस्तो आपत आइहाले शम्शेगन्जमै रहेको गोताखोरको टोली पनि तयारी अवस्थामा तैनाथ रहेको खत्रीले बताए।

बर्दियामा पनि कर्णाली र बबई नदी रहेका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिदै सदरमुकाम गुलरिया, राजापुर र कतर्नियामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालित भइसकेको डीआईजी खत्रीले जानकारी दिएका छन् । उनका अनुसार पहाडी जिल्लाका अर्घाखाँची सदरमुकाम सन्धिखर्क, पाल्पाको सदरमुकाम तानसेन, गुल्मी सदरमुकाम तम्घासमा र पहाडी भेगको चन्द्रकोट गाउँपालिका-६ मा विपद् व्यवस्थापनको टोली परिचालित छ।

त्यसैगरि पूूर्वी रुकुमको मुसिकोट, रोल्पाको लिवाङ र प्युठानको सदरमुकाम खलंगामा पनि विपद् व्यवस्थापनको टोली परिचालन भइसकेको छ।

डीआईजी खत्री भन्छन् -"लुम्बिनी प्रदेशमा पहाडी जिल्ला लगायत तराईका जिल्लामा पनि उत्तिकै जोखिम रहेको हुँदा बाहिनीमा समेत एउटा टोली तयारी अवस्थामा राखेका छौ। उस्तै परे म पनि फिल्डमा खटिन तयारी हालतमै छु।"

कुनै घटना भएको खबर पाए लगत्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली क्षणभरमै पुग्ने व्यवस्था समेत मिलाइएको हुँदा दाङमा शनिबार मात्रै राप्तीको  भेलमा फसेकाको सकुशल उद्धार गर्दै डुबानमा परेको गाउँका सयौं नागरिकको धनमाल जोगाउदै उनीहरुलाई सुरक्षित स्थानमा सार्न सफल भएको डीआईजी खत्रीले भने। 'नागरिकको जिउ ज्यानको सुरक्षाका नै हाम्रो जिम्मेवारी हो'खत्रीले भने।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्