सशस्त्र प्रहरीद्वारा बाढी र डुबानमा फसेका दर्जनौं व्यक्तिको सकुशल उद्धार

शनिबार, असार २२, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले अविरल वर्षाका कारण दाङमा आएको बाढी र  डुबानमा परेकाहरुको सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरीको लमहीको अर्जुनखोलास्थित नंं.४१ रिजर्भ गण र नंं २९ गण भालुबाङबाट गएको टोलीले आज दिउँसो २५ जनाको उद्धार गरेको सशस्त्र प्रहरी लुम्बिनी प्रदेश प्रमुख डीआईजी अभि खत्रीले जानकारी दिएका छन् ।

अविरल वर्षाले लमही नगरपालिका-८ सत गाउँमा डुबानमा परेका २५ जना स्थानीयलाई सकुशल उद्धार गरेको खत्रीले बताए। त्यस्तै सशस्त्र प्रहरीको सोही रिजर्भ गणले आज बिहान पनि दूध बेचेर फर्किदै गर्दा राप्तीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको थियो।

त्यस्तै सशस्त्र प्रहरीले काठमाडौंको बागमती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ।

आज अपराह्न सशस्त्र प्रहरीको गोताखोरको टोलीले कीर्तिपुर नगरपालिका-१० स्थित ल्याबोरोटोरी स्कुल नजिकै बागमती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बाढीमा तीन जना फसेको खबर पाए लगत्तै सशस्त्र प्रहरी नंं.२० विपद् उद्धार गण सिनामंगलबाट गएको  गोताखोरको टोली र निलबाराही गण कीर्तिपुरबाट गएको सशस्त्रको टोलीले हेटौंडाकी उर्मिला लामा र अनिता लामा र खोटाङका धनराज लामाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरि सशस्त्र प्रहरीको नंं. २३ मनकामना गणले तनहुँको ब्यास नगरपालिका-१२ कमलबारीस्थित पहिरो अत्यन्त जोखिममा परेको घरका मानिसहररुलाई उद्धार गरेको छ।

स्थानीय भुमाया अछामीको सोही घरभित्र रहेका सबै भौतिक सामग्रीलाई समेत अन्यत्र सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले दाङमा उद्धार गर्दाको दृश्यहरु-

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्