बाँकेको राप्ती नदीमा पानीको सतह ८.०१ मिटर पुग्यो, चौफेरीका ५० जनालाई सुरक्षित ठाँउमा लगियो

शनिबार, असार २२, २०८१

डुडुवा(बाँके ) । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपरान्ह पौने ६ बजेको रेकर्ड अनुसार पानीको सतह ८.०१ मिटर पुगेको छ । निरन्तर पानी परेपछि राप्ती नदीमा बाढी आएको हो । पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । 

बाढी बढेपछि डुडुवा गाउँपालिका १ चौफेरीका ५० जनालाई सुरक्षित स्थानमा सारिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । यस्तै करीब १०० परिवारलाई सुरक्षित स्थानमा लैजाने तयारी पनि गरिएको छ ।

नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको ज्ञवालीले बताए । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरिएको छ । डुबानको जोखिम बढेकाले उद्दारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । 

राप्ती नदीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गंगापुर, कुदरबेटवा, सोनबर्षा लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का विभिन्न गाउँमा बाढी पस्न थालेको स्थानीयले बताएका छन् । बाघखोर गाउँका केही घरमा राप्तीको पानी पसेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्