बाँकेको राप्ती नदीले सतह पार गर्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

शनिबार, असार २२, २०८१

बाँके  निरन्तर पानी परेपछि बाँकेमा राप्ती नदीले सतह तह पार गरेको छ । आज मध्याह्न राप्ती नदीको कुसुम जल मापन केन्द्रमा ६.२ मिटर पानीको सतह मापन गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह  गरिएको छ । 

नदी तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क बनाइएको ज्ञवालीले जानकारी दिए । नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता नगर्न आग्रह गरिएको छ । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा बर्षा भइरहेकाले पानी सतह बढ्दै जाने देखिएको छ ।

राप्तीको कुसुमस्थित जल मापन केन्द्रमा पानीको सतह ६ मिटरमाथि भएमा सतर्कता तह र ७.८ मिटर पार गरेमा खतराको तह मानिन्छ । राप्ती नदीमा पानीले खतराको तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी तथा नरैनापुरको गंगापुर, कुदरबेटवा, सोनवर्सा लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्