आयुक्तको घरमा डोजर चले लगत्तै अख्तियारले ललितपुरका मेयरलाई काट्यो पत्र

बिहीबार, असार २०, २०८१

काठमाडौँ । अख्तियारका आयुक्तको घरमा ललितपुर महनगरले डोजर चलाए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बुधबार अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएपछि अख्तियारले चिरिबाबुलाई पत्र काटेको हो । 

अहिले काटिएको पत्रसँग भने पर्खाल भत्काइएको विषयसँग सम्बन्धित छैन । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ । 

तर पत्र भने आयुक्तको पर्खाल भत्काएको दिनमा काटिएको छ । मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकाले अमात्यको घरको पर्खाल भत्काएको हो ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित अमात्यको घरको कम्पाउण्ड (पर्खाल) बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको थियो ।

डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको महानगरपालिकामा पेस भएको कागजातबाट देखिन्छ ।

घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यस क्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ । 

स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्