रुकुम पश्चिममा ३९ फरार प्रतिवादी पक्राउ, १९ सय ४९ सवारीसाधन कारबाहीमा

बुधबार, असार १९, २०८१

रुकुम पश्चिम। रुकुम पश्चिम प्रहरीले जिल्लाभरमा पछिल्लो ३ महिनामा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गर्दै आबश्यक कारबाहीका लागि अदालतमा बुझाएको छ।

त्यस अवधिमा रुकुम पश्चिम प्रहरीले  ७९ रोपनीमा लगाइएको अफिम खेती समेत नष्ट गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नबराज पोखरेलले जानकारी दिएका छन् ।

डीएसपी पोखरेलका अनुसार प्रहरीले गत चैत १४ देखि असार १४ सम्म २७ र मंगलबार १२ जना फरार प्रतिवादी पक्राउ गरेको हो। उनीहरु सबै अदालतले सजया गरेका प्रतिवादीहरु हुन् ।

पक्राउ गरिएकाहरुमध्ये कतिपय ज्यान मुद्दामा ५ वर्षबाट फरार रहदै आएका थिए भने कतिपय बैंकिङ कसुर, बलात्कार लगायत अन्य मुद्दाका फरार प्रतिवादी रहेको डीएसपी पोखरेलले बताए।

अदालतले जिल्लामा ३१९ जना फरार प्रतिवादी रहेको विवरण दिएपछि गरिएको कारबाहीमा ३९ पक्राउ पर्दा अन्य फरार रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको पोखरेलले जानकारी दिएका छन् ।

रुकुम पश्चिम प्रहरीले विभिन्न उजुरी तथा घटनाको अनुसन्धानका लागि २३ जनालाई पक्राउ गरेको छ भने जसमा १७ पुरुष ,२ महिला र ४बालक रहेका छन् ।

त्यसैगरी प्रहरीले २ नाल अवैध हतियार बरामद गरेको जनाएको छ भने २४४ वटा नागरिकता सम्बन्धि मुचुल्का  र ४२ वटा नागरिकता संंशोधनको मुचुल्का बनाएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।

सो अवधिको दौरानमा जिल्लाभरमा १९४९ सवारीसाधनलाई कारबाही गरेर १४ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको डीएसपी पोखरेलले बताए। साथै जिल्लामा भएको विपद् घटनामा ३५० जना प्रहरी परिचालन गर्दै २८ वटा विपद्का घटनाको मुचुल्का तयार पारेको हो।

जिल्लाभर गरिएको सचेतना कार्यक्रमतर्फ २०३ वटा सचेतनामुलक कार्यक्रममा २५८ जना नागरिक सहभागी भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्