पत्रकार महासंघविरुद्ध उत्रियो प्रेस युनियन, भोलि देशभरका पत्रकार महासंघमा धर्ना दिँदै

आइतबार, असार १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  ।  नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि  प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा नेपाल प्रेस युनियनले भोलि (सोमबार) धर्ना दिने भएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । 

पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भएपछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो । बार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिए । 

प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्