भारतीय कप्तान रोहित शर्मासंगै विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

आइतबार, असार १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतका कप्तान  रोहित शर्मा र प्लेयर अफ द फाइनल पूूर्व कप्तान  विराट कोहलीले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेपछि टी–२०  अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् ।

रोहितले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।

रोहितले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।

रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट संन्यासको घोषणा गरेका थिए । कोहलीले भने, ‘यो मेरो अन्तिम टी–२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी–२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी–२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडि बढाउने छन् ।’

रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ । यसअघि भारतले टी–२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो । 

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्