रक्षामन्त्री र प्रधानसेनापतीले रथी सिग्देलको उमेर विवादमा जवाफ दिनुपर्छ: प्रभु साह

शुक्रबार, असार १४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादमा आम जनता पार्टी (आजपा) अध्यक्ष तथा सांंसद प्रभु साहले रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।

आजको संंसद बैठकमा  बोल्दै साहले साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री उप्रेती र प्रधानसेनापति शर्माले जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको बताए । उनले रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने समेत बताए ।

सांसद साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ ।’ दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्‍याउने जसले जुन ढंगले हर्कत गरेका छन् त्यो सकारात्मक नभएको उनले बताए।

उनले यस विषयमा प्रधानसेनापतिले नैतिक जिम्मेवारी लिनुपर्ने समेत बताए । साहले भने, ‘माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन ।

प्रधानसेनापतिले सिग्देलको बारेमा संसदीय समितिको सुनुवाइमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? यसरी विषयहरू आइरहनु सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।’ अध्यक्ष साहले भने।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्