मेयर प्रशान्त बिष्ट याक्सनमा आएपछि लक्ष्मीले पाइन् न्याय, नगर प्रहरीले हटायो बाटोको काँडेतार

बिहीबार, असार १३, २०८१

नेपालगञ्ज ।मेयर प्रशान्त बिष्ट याक्सनमा आएपछि  नेपालगञ्ज–१८ कारकाँदो निवासी लक्ष्मी शर्माको घर अगाडि लगाइएको काँडेतारे हटेको छ । चलनचल्तीको बाटो अवरुद्ध गरेर जग्गा व्यवसायी कौशल नेपालले शर्माको घर जाने बाटो अवरुद्ध गरेर दुःख दिएका थिए । स्थलगत प्रतिवेदन अनुसार तारबार गरिएको ठाउँमा चलनचल्तीको बाटो भएको प्रमाणित भएपछि नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त बाटोमा गरिएको अवरोध हटाउन निर्देशन दिएका थिए । कानुनमा भएको व्यवस्था अनुसार अवरुद्ध बाटो हटाइएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ ।

प्रमुख विष्टको निर्देशनपछि नगर प्रहरीको टिम गएर बाटोमा लगाएको काँडे तारबारलाई हटाएका थिए । कानुनी रुपमा आफूले न्याय पाएको पीडित शर्माले बताइन् । उनले भनिन्, ‘घरको बाटो करीब एक महिनादेखि बन्द भएको थियो । मेरो घर परिवारलाई दैनिक आवातजावतमा समस्या परेको थियो । मानसिकरुपमा हामीलाई धेरै समस्याको सामना गर्नुपर्यो ।’ न्याय पाउनको लागि आफूले नेपालगञ्ज उप–महानगरपालिकादेखि लिएर अन्य सम्बन्धित निकायमा पनि समेत उजुरी दिएको शर्माले बताइन् । तर, बुधबार नगर प्रहरीले अवरुद्ध भएको बाटो सुचारु गरेपछि आफूले न्यायको अनुभूति गरेको शर्माले बताइन्।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी शर्माको घर अगाडिको बाटो करीब १ महिना अघिदेखि अवरुद्ध थियो । शर्माको घर जाने बाटो अवरुद्ध गरेर व्यवसायी नेपालले बार्गेनिङ गरेका थिए । जग्गा व्यवसायी नेपाल वेष्टर्न रियल स्टेटका अध्यक्ष हुन् । प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाए पनि नेपालले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगञ्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनुपर्ने प्रावधान छ । प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुट्याएको जमिन भने नेपालले आफ्नै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका थिए ।

चलचल्तीको बाटो भए पनि बाटो अगाडि बढाउन शर्माले आफ्नो जमिन नदिएका कारण आफूले बाटो अवरुद्ध गरेको नेपालले बताएका थिए । कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आँगन छ । त्यही घरको अगाडिको जमिन बाटोको रुपमा दिनुपर्छ भन्दै नेपालले आफूहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाउँदै आएकी थिइन् ।

प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने नेपालले आफ्नो नाममा दर्ता गरेका थिए । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुट्याइएको छ । त्यही बाटो अवरुद्ध गरिएको थियो । विवादलाई समाधान गर्नको लागि नेपालगञ्ज उप–महानगरपालिकामा दुबै पक्षबीच छलफल पनि भएको थियो । तर, सहमति हुन नसकेपछि प्रमुख विष्टले कानुन प्रक्रिया अनुसार निकास दिन प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्