अस्पतालको सेवा विस्तारका लागि बेल्जियममा ५४ लाख संकलन

मंगलबार, असार ११, २०८१

लुभेन (बेल्जियम) । पर्वत जिल्ला अस्पतालको भौतिक विकास तथा स्तरोन्नतीमा थप सहयोग पुर्याउने उदेश्यका साथ अन्तर्राष्ट्रीय पर्वत समाज–बेल्जियमले सोमबार बेल्जियमको लुभेन शहरमा च्यारिटि डिनर तथा विविध साँस्कृतिक कार्यक्रममा सम्पन्न गरेको छ । 

“आजको आवश्यकता, प्रवासी पर्वतेलीहरुको एकता-समुन्नत समाज, सम्वृद्ध पर्वत निर्माण हाम्रो अभियान” का भन्ने मूल नाराका साथ सन् २०१७ मा बेल्जियममा स्थापना भएको पर्वत समाजले केन्द्रीय निर्णय अनुसार पर्वत जिल्ला अस्पतालको स्तारोन्नती लगायत विरामी तथा विरामी कुरुवाहरुलाई सहज र प्राकृतिक मनोरंजन प्रदान गर्ने अभिप्राय अनुसार यसका अभियन्ता तथा सहयोगिहरुले गत एक महिनादेखि विभिन्न दाता तथा शुभेच्छुहरुलाई सहयोगको याचना गरेसंगै उनीहरुबाट नगद सहयोग दिने घोषणा गरिएका थियो । 

कार्यक्रममा समाजका आर्थिक संयोजक कृष्ण तिवारीले जानकारी दिएअनुसार समाजको आग्रहमा बेल्जियमबासी नेपाली भाषी र अन्य विदेशीहरुले गरेको प्रतिबद्धता अनुसार हालसम्म ५४ लाख भन्दा बढि रकम संकलन हुने भएको छ। 

बेल्जियम, नेदरल्याण्डस् र लक्जम्वर्ग (बेनेलक्स) का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानी र अन्तर्राष्ट्रीय पर्वत समाजका केन्द्रीय अध्यक्ष गुणराज शर्माद्धारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा  प्रमुख अतिथिको आसनबाट बोल्दै राजदुत राजभण्डारीले नेपालमा गरिने परोपकारी कामका लागि परदेशवाट नेपालीहरुले देखाएको सक्रियतामा एक्येबद्धता र पारस्परिक सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रमका  विशिष्ट अतिथि लुभेन नगरपालिकाका मेयर रुदवानीले बेल्जियमको लुभेन शहरमा धेरै देशबाट आएर मानिस बासोवास गरिरहेता पनि ती मध्ये नेपालीहरुको पहिचान, आर्थिक र सामाजिक योगदान बिशेष रहेको बताए ।  मेयर रुदवानीले लुभेनमा बसोबास गर्ने नेपालीहरुको आपसी सहयोग, सद्भाव र ऐक्यबद्धता प्रभावित भएर लुभेन नगरपालिका र नेपालको कुनै एक नगरपालिकाबिच भविष्यमा आपसी सहयोग आदान प्रदानका लागि आफुले काम गर्न चाहेको बताउँदै, आफुले छिटै नेपालको भ्रमण गर्ने जानकारी दिए । 

समाजका केन्द्रीय अध्यक्ष गुणराज शर्माले आफुहरुले पर्वत र यस आसपासका जिल्लामा परोपकारी कामका लागि आवश्यक पर्ने आर्थिक रकमको जोहो गर्न ६ वटा देशहरुलाई छनौट गरेको जानकारी दिदै बेल्जियममा बसोबास गर्ने सबै प्रवासी नेपालीहरुको सहयोगले यो कार्यक्रममा सफल भएकोमा सबै प्रति आभार र सम्मान व्यक्त गरे । 

अध्यक्ष शर्माले बिषम परिस्थितिमा पनि आफुहरुले निर्माण गरेको योजनामा भविष्यमा पनि साथ र सहयोग रहने अपेक्षा गरेको बताए । 

कार्यक्रममा अतिथिको आसनबाट अन्तर्राष्ट्रिय  पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङ, अन्तर्राष्ट्रय चार भञ्ज्याङ तमु समाजका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, संघका पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व केन्द्रीय उपाध्यक्ष नारायण आचार्य, समाजका बरिष्ठ उपाध्यक्ष दधि आचार्य, काउन्सिल परिषद संयोजक पुरन गिरी, संरक्षक सुरेन्द्र भुषाल, दुर्गाप्रसाद श्रेष्ठ, समाजका सल्लाहकार नारायण गुरुङ लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

समाजका बरिष्ठ उपाध्यक्ष दधि आचार्यका अनुसार संस्थाको निर्णय अनुसार अहिले आफु मातहतका विभिन्न राष्ट्रीय समितिहरुले बिशेष गरी पर्वत र त्यसपछि आसपासका जिल्लाहरुमा परोपकारी कामहरु गर्नका लागि समाजले यो अभियान संचालन गरेको र अभियानमा संसारभरीका शुभेच्छु तथा सहयोगी मनले आर्थिक, भौतिक र नैतिक सहयोग गरिरहेकोमा आफुहरुलाई थप हौसला र प्रेरणा मिलेको बताए। 

कार्यक्रमको शुरुवातमा स-साना नानीहरुद्धारा स्वागत नृत्य प्रस्तुत गरिएको थिए भने अतिथि लगायत सबैलाई स्वागत समाजका प्रमुख संरक्षक झलक केसीले र धन्यवाद ज्ञापन खड्गबहादुर केसीले गरेका थिए । 

दोश्रो चरण अन्तर्गत विविध साँस्कृतिक कार्यक्रममको शुभारम्भमा स्विजरल्याण्ड निवासी गायक जीतबहादुर तिलिजाले तुलसी आगनमा रोपौला जस्ता गीतहरबाट गरेका थिए ।

त्यसैगरी दोश्रो प्रस्तुतिमा अर्की गायिका सुमी घिमिरे सापकोटाले आफ्ना गीतहरु प्रस्तुत गरेकी थिइन । गायिका सापकोटाले पनि करिब आधा दर्जन गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नाच्न बाध्य पारेकी थिईन । 

साँस्कृतिक कार्यक्रमका मुख्य आकर्षक गीतकार, संगीतकार तथा गायक बिष्णु खत्रीले आफ्ना र अन्य गरेर आधा दर्जन भन्दा बढि गीतहरु गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए । कार्यक्रममा लुभेन लगायत यसका आसपासका देशहरुवाट समाजका सदस्य तथा स्थानीय संघसंस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्