अपराजित रहँदै भारत टी-२०विश्वकपको सेमिफाइनलमा

मंगलबार, असार ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर एटको खेलमा भारतले अष्ट्रेलियालाई हराएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । 

यससँगै  अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यस समूहबाट छ अङ्कसहित भारत शीर्षस्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ । भारतले फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग खेल्नेछ।

 यसैगरी सुपर ‘आठको अन्तिम खेलमा बङ्गलादेशले अफगानिस्तानलाई हराएमा अष्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।

भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८१ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए । 

४३ बल खेलेका उनले नौ चौका र चार छक्का प्रहार गरे। त्यस्तै  कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याक्सेवलले २० र टिम डेभिडले १५ रन बनाए । कमिन्सले ११ रन बनाउँदा  मिचेल स्टार्क चार रनमा अविजित रहे ।

भारतका अर्शदीप सिंहले तीन विकेट लिए बने कुलदीप यादवले दुई विकेट लिए । त्यस्तै  जसप्रित बुमराह र अक्षर पटेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय पाँच रनको योगफल बनाएको थियो ।

भारतका कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए। ४१ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमार यादवले ३१, शिवम दुबेले २८, हार्दिक पाण्ड्याले २७, ऋषभ पन्तले १५ र रवीन्द्र जडेजा नौ रन जोडे ।अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए भने जोश हेजलवुले एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्