लोकल रक्सी पिउदा ३४ जनाको मृत्यु, सय बढी अस्पताल भर्ना

बिहीबार, असार ६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । छिमेकी राष्ट्र भारतको तमिलनाडुमा लोकल रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको छ। रक्सी सेवनबाट १ सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । 

स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री  स्टालिनलाई उद्धृत गरी पिटिआईले जनाएको छ । 

घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको मुख्यामन्त्री स्टालिनले बताए । 

अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने उनले बताएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई भारतीय सञ्चारमाध्यमले उद्धृत गरेका छन् ।

तामिलनाडुका राज्यपालले सामजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गरे ।  

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्