यसपटकको कांग्रेस बैठकले जनतासँग प्रत्यक्ष जोड्ने नयाँ प्रयोग ल्याएको छ : प्रवक्ता महत

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय कमिटीको बैठकलाई यसपटक कांग्रेसले जनतासँग जोड्ने नयाँ प्रयोग गरेको बताएका छन्  । 

प्रेस युनियन रुपन्देहीले आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘चालू नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने  बताएका छन्  । 

प्रत्यक्ष प्रशारणको धेरै सकारात्मक प्रतिक्रिया आइरहेको मन्त्री डा. महतले बताए । नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो, तर प्रत्यक्ष प्रशारणसहितको बैठकले नेपाली कांग्रेसभित्रको यथार्थ स्थिति के भन्ने कुरा स्पष्ट भएको उनले बताए । 

केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ । व्यक्ति होइन, पार्टीलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्न सकिन्छ । र देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकूल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको मन्त्री डा. महतले बताए । 

छलफलमा चाँडै नीति अधिवेशन गर्ने प्रस्ताव छ, । विभिन्न राष्ट्रिय मुद्दामा आफ्नो दृष्टिकोण आउँछ । पार्टीका हरेक निकाय क्रियाशील गराउनका लागि कार्यक्रम तालिका पनि प्रस्ताव गरिएको छ । यी सबै प्रस्ताव पारित हुने मन्त्री डा. महतले बताए । उनले भने, गठबन्धन सरकारमा सुशासन केन्द्रविन्दू राख्नुपर्ने पार्टीको मान्यता छ, यही मान्यतासँग उच्च मनोबलका साथ जनता र देशलाई केन्द्रविन्दूमा राख्नुपर्ने सर्भिस दिनुपर्छ ।’

देखिएको समस्या सम्बोधन गर्दै देशलाई आर्थिक सम्वृद्धि र विकासको बाटोमा हिडाउनुपर्ने मूल उद्देश्यका साथ काम गरिरहेको मन्त्री डा. महतले बताए । तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको उनको भनाइ थियो ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको उनले बताए। 

मौद्रिक नीति सार्वजनिक भएको छ । ब्याजदरमा केही खुकुलोपन प्रस्ताव भएको छ । सुधारका केही पहल भएको छन्, त्यसले निजी क्षेत्रमा जाने लगानी सहज हुनेछ, मन्त्री डा. महतले भने, ब्याजदर कम भएर जान्छ, त्यसले लगानीको वातावरण सहज बन्नेछ । 

वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ, उनले भने, विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्