एक महिनामा बाँकेमा सवा करोड बढीको अवैध सामान बरामद, १७ सय बढी सवारीसाधन कारबाहीमा

बिहीबार, असार ६, २०८१

बाँके । छोटो समयमै एसपी तुलबहादुर कार्की नेतृत्वको बाँके प्रहरीले जेठ महिनामा मात्रै सवा करोड बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी बाँकेले जेठ महिनामा मात्रै १ करोड ३१ हजार ९८० रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरेको हो।

बाँके प्रहरी पछिल्लो जेठ महिनामा मात्रै अवैध उत्खनन लगायत अवैध सामान नियन्त्रणमा थप कडाइ गर्दै उक्त रकम बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

बाँकेमा जेठ महिनामा  प्रहरीले चलाएको अपरेशनमा चोरीको बस, बोलेरो जिप लगायत ७ वटा मोटरसाइकलसमेत बरामद गरेको छ। त्यसैगरि अवैध उत्खननमा संंलग्न भएका ५ वटा जेसिबी र ६ टिपरलाई कारबाही गर्दै १ लाख ४५ हजार रुपैयाँ राजस्व उठाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

यस्तै बाँके प्रहरीले चलाएको कारबाहीमा २ लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट अवैध रुपमा ल्याइएको करिव २ क्विन्टल बोइलर खुकुरा र १८ सय चल्ला बरामद गर्दै आबश्यक कारबाहीका लागि क्वारेन्टाइन कार्यालयमा पठाएको जनाएको छ।

जेठ महिनामा गरिएको ट्राफिक कारबाहीमा बाँकेमा १७१३ सवारीसाधनलाई कारबाही गर्दै १४ लाख ६१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्दै बाँके प्रहरीले सवारी धनी नखुलेका १२१ वटा  मोटरसाइकल र स्कुटर लिलाम गर्दै ६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

त्यसैगरि जेठमा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका १७२ मुद्दाहरुमा १२७ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै कानुनी कारबाही गरिएको छ। प्रक्रिया अगाडि नबढेका ६३ मुद्दालाई जेठ महिनामै फर्छ्यौत गरिएको हो। ठाडो उजुरीतर्फ बाँके प्रहरीमा आएको ४९९ मध्ये ३५१ लाई फछ्र्यौट गरिएकोमा १५ वटा  सम्बन्धित निकायमा पठाइएको छ भने १३३ वटा उजुरी फर्छ्यौत गर्न बाँकि रहेको बाँके प्रहरीले जनाएको छ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जेठमा ४४ जनालाई पक्राउ गर्दै त्यसबापत १८ वर्ष २ महिना २९ दिन कैद र २३ लाख ७९ हजार २७४ रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

जिल्ला प्रहरी बाँकेले जेठ महिना चोरी भएका ७ थान मोबाइल फेला पार्दै सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ भने चार जना मोटरसाइकल चोरलाई पक्राउ गर्नुका साथै ९ वटा चोरी भएका मोटरसाइकल फेला पारेको छ। त्यस्तै स्कुटर चोरीमा संंलग्न रहेका दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरेको बाँके प्रहरीले जनाएको छ।

यसैगरी बाँके प्रहरीको महिला तथा बालबालिका सम्बन्धि ११ मुद्दा अन्तर्गत ३ मुद्दाका आरोपीलाई पक्राउ गरि कारबाही प्रक्रियामा ल्याएको छ। घरेलु हिंंसाको उजुरीतर्फ ६१ मध्ये ३१ वटा फर्छ्यौत गरिएको र अन्य उजुरीको अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धि हराएका ९ वटा निवेदनमा ३ जनालाई फेला पार्दै परिवारको जिम्मा लगाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्