सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले बुधबार एक कार्यक्रमका बीच डुडुवालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।
जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले पूर्ण खोप घोषणा गर्दै पालिकाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । सबै सरोकारवालाको सहयोगमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको कार्यले पूर्णता पाएको उनले बताए ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले पशु स्वास्थ्य उपचारमा मुलुकमै नमूना पालिकाको रुपमा काम गरिरहेको दाबी गर्दै स्वास्थ्य क्षेत्र पनि मुख्य प्राथमिकतामा रहेको उल्लेख गरे । स्वास्थ्य लगायतका सेवालाई प्रभावकारी बनाउन सिसी क्यामरामार्फत समेत निगरानी गरिरहेको भन्दै उनले अझ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताए ।
अध्यक्ष चौधरीले पालिकाका तीन स्थानमा निःशुल्क प्रयोगशालामार्फत सेवा प्रदान गर्दै आएकाले अब ३ नम्बर वडामा थप प्रयोगशाला सञ्चालन गर्न लागेको जानकारी गराए । पालिका विशेष रणनीतिका साथ शिक्षा लगायतका क्षेत्रमा विशेष योजनाका साथ अघि बढेको भन्दै चौधरीले नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जन्मिएका बालबालिकाहरुको पहिलो सुरक्षाको रुपमा खोप रहेकोले सबै बालबालिकाहरुलाई सम्पूर्ण खोप प्रदान गर्नुपर्नेमा जोड दिए । बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने भएकाले कुनै पनि खोप छुटाउन नहुने भन्दै सबैले आ–आफ्नो तहबाट सहयोग गर्न आग्रह गरे ।
गाउँ समुदायमा खोजपड्ताल गरी खोप लगाउन छुटेका १४३ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार डुडुवामा ३ हजार ३११ बालबालिकालाईलाई खोप लगाउने लक्ष्य सतप्रतिशत पूरा भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्थानीय समन्वय अधिकारी विक्रम प्रसाद पाण्डे, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, वडा सदस्य राधेश्याम मौर्य, डब्लु.एच.ओ.का प्रतिनिधिहरु डा. प्रस्तुति शर्मा, सरला न्यौपाने, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेशबाबु श्रेष्ठ, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।