नेपालको विकासका लागि नेदरल्यान्ड्समा छलफल

बुधबार, असार ५, २०८१
Neuro hospital Nepalgunj

नेदरल्यान्डस् । नेदरल्यान्डस् स्थित सक्रिय डच संघ-संस्थाहरुले नेपालको समग्र विकास र नेदरल्याण्ड्समा बस्ने नेपाली भाषीहरुको हितका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उक्त प्रतिबद्धता गैरआवासीय नेपाली संघ–नेदरल्यान्डस्  र विगत लामो समय देखि नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा काम गरी रहेका डच संस्थाको प्रतिनिधिमूलक संस्था नेपाल फेडरासी नेदरल्यान्डस्  (एनएफएन) द्धारा शनिवार आम्सटडममा आयोजित कार्यक्रममा जनाइएका हुन । 

कार्यक्रमका सम्वन्धमा बेल्जियम, नेदरल्यान्डस्  र लक्जम्वर्ग (बेनेलक्स) का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले आफु मातहतका देशहरुबाट नेपालको आर्थिक, सामाजिक विकास तथा लगानीका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरुलाई अझ बढि सक्रिय र दिगो साझेदारको रुपमा स्थापित गर्न आवश्यक भएकोले यस्ता कार्यक्रमहरुले नेपालीमा लगानीको सम्भावना र अवसरहरु बढ्ने बताएका हुन्  । 

राजदुत राजभण्डारीले अहिलेको अवस्थामा नेपाल र नेपालीको विकास तथा पर्यटन प्रवर्धनका लागि जो जहाँ छौ त्यहिवाट सहयोग गर्न आवश्यक रहेको हुँदा विदेशी समुदाय र नेपाली भाषी समुदायबाट यस्ता कार्यक्रमहरु आयोजना गरिदा सबैलाई लाभ हुने बताए।

कार्यक्रमका सम्वन्धम गैरआवासीय नेपाली संघ नेदरल्यान्डस् अध्यक्ष थानेश्वर कँडेलले केही सयम यता नेपालको विकासमा साझेदारी र सहयोग गर्दै आएका डच संघ-संस्थाहरुले नेदरल्याण्ड्समा नेपाल कंग्रेस भनेर भेटभाट तथा अनुभव आदानप्रदान गर्ने गरेको र नेपाली समुदायले पनि नेपाल डे भनेर यस्तै प्रकारको कार्यक्रम आयोजना गर्ने गरिएकोमा, संघको अनुरोधमा नेपालको विकास सम्वन्धि बहस र फलफलमा प्रवासी नेपालीहरुलाई समेत सहभागि गराएमा यस्ता कार्यक्रमहरु अझ बढि सार्थकता र उपलब्धिमूलक हुने भएकोले आपसी सहमतिमा यो भेला पहिलो पटक संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको बताए । 

अध्यक्ष कँडेलले कुनै पनि देशको विकासका लागि बाह्य सहयोग पनि आवश्यक पर्ने हुँदा नेपालको वास्तविक अवस्था र नेपालको विकासका साझेदार डच संस्थाहरुको अनुभव आदान प्रदानले दुई देश बिचको सम्वन्ध र आपसी सहयोगलाई अझ प्रगाढ बनाएको बताए ।

शनिवार सम्पन्न कार्यक्रमले गैरआवासीय नेपाली संघ नेदरल्याण्ड र नेपाल फेडरासी नेदरल्याण्ड (एनएफएन) को सहकार्यमा नेदरल्याण्ड्समा नेपाली कला, संस्कृति झल्किने नेपाली घर बनाउन गर्न सहयोग गर्ने सहमति भएको छ ।

त्यस्तै अर्को सहमतिमा काठमाण्डौंबाट प्रदान गरिदै आएको डच कन्सुलर सेवा विगत लामो समय देखि बन्द भएको उक्त डच कन्सुलर सेवा पुनः काठमाण्डौंबाटै संचालनका लागि पहल गर्न सहयोग गर्ने र आगामी बर्षहरुमा नेपाल डे लाई प्रभावकारी तवरले संयुक्त रुपमा मनाउने दुई पक्षीय सहमति पत्रमा (एमओयु)मा हस्ताक्षर गरिएको छ ।

अध्यक्ष कँडेलले कन्सुलर सेवा पुनः काठमाण्डौबाटै संचालन गर्न सकिएमा समयको बचत हुने र व्यक्तिलाई आर्थिक भार कम हुने र यसका लागि संघले यहाँको स्थानीय संघसंस्था तथा राजनैतिक दलहरु मार्फत पनि पहल भै रहेको बताए।  

कार्यक्रममा नेदरल्याण्ड्समा स्थापना भएर नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका डच संस्थाहरुको प्रतिनिधिमूलक संस्था एनएफएनका संस्थापक अध्यक्ष क्रिन डे बेस्टले “तीन तहमा हाम्रो कार्य क्षेत्र भित्र विकास” शिर्षकमा आफ्नो संस्थाले विगत देखि हालसम्म गरेका काम र अनुभव आदान प्रदान गरेका थिए । 

व्यवसायी गेरार्ड आरिङ्कले “बसाईसराई बिरुद्ध नेपालमा रोजगारीका अवसरहरुको सृजना” बिषयमा बिचार प्रस्तुत गरेका थिए भने डोपर संस्थाका संस्थापक मेरिजेन इभराट्सले “दिगोपन र पानी परियोजना” का बारेमा आफ्नो प्रस्ततिकरण दिएका थिए ।  

कार्यक्रममा राजदुत गेहेन्द्र राजभण्डारी तथा नेदरल्याण्ड्सस्थित  नेपाली कन्सुलर कास डे स्टोपेलार, एनएफएनका अध्यक्ष बजोर्न स्टेभर्स, पत्रकार एवम् एनएफएनका सदस्य बारेन्ड जान ट्ईटले नेपाल र नेपाली समुदायको विकासका लागि आआफ्नो अनुभव आदान प्रदान गरेका थिए । 

कार्यक्रमको अन्तमा नेपालमा संचालित शिक्षा, स्वास्थ्य, वालविकास लगायत विभिन्न परियोजनाका बारेमा “स्पिड डेटिङ” सेशन तथा नेपाली परियोजना र व्यापारमा सहयोग तथा दिगोपना बिषयमा पनि प्यानल छलफल गरिएको थियो । 

छलफलले सहयोगी संस्थाहरुले आगामी दिनहरुमा नेपालमा आर्थिक सहयोगका कुरालाई मात्र ध्यान नदिई दुई देश बीचको व्यापार, प्रविधि तथा ज्ञान हस्तान्तरण र लगानीमा पनि ध्यानदिनु पर्ने निचोड निकाले गैरआवासीय नेपाली संघ नेदरल्याण्डको फेसबुक पेजमा उल्लेख गरिएको छ ।    

कार्यक्रममा नेपाली भोजनको प्रबर्धनका लागि हिमालय किचन, लाखे किचन, अशोका, दिवाली प्यालेस– नेपाली तथा इन्डियन किचनद्धारा आगन्तुक तथा सहभागिहरुलाई नेपाली भोजन पस्किएका थिए । 

कार्यक्रम मार्फत पनि नेपाली कला तथा संस्कृतिको प्रवर्धन र मनोरन्जन प्रदान गर्न इनास नेदरल्याण्डका कलाकार अनुस्का टण्डन, बालकलाकार खुसी सापकोटा, मगर समाज नेदरल्याण्डबाट बिपना थापा मगर, गुरुङ समाज  नेदरल्यान्डबाट मनिता गुरुङ, शिला गुरुङ तथा सनम गुरुङले नेपाली गीतमा नृत्य तथा प्रस्तुतिकरण दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्