वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउदै सामी

बुधबार, असार ५, २०८१

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन निरन्तर काम गरिरहेको छ । सामीले आज नेपालगञ्जमा पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा आफ्ना गतिविधिबारे जानकारी गराएको छ। सामीका बाँके जिल्ला संयोजक कमल सिंह नेपालीले प्रस्तुतिकरण गर्दै कार्यक्रमको प्रभावकारिताबारे जानकारी गराएका हुन् ।  

तथ्यांक अनुसार लुम्बिनी प्रदेशबाट १ लाख ३६ हजारले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगारीमा जानका लागि एक बर्षमा १ लाख ३६ हजार १ सय २८ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा पुरुष १ लाख २८ हजार ४३ र महिला ८ हजार ८५ जना छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमका अनुसार लुम्बिनीमा सबैभन्दा बढी रुपन्देही, दोस्रोमा दाङ र तेस्रोमा कपिलबस्तुबाट श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमले सूचनामा पहुूँच, न्यायमा पहुँच (कानुनी सहजीकरण), सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ ।

सामीका बाँके जिल्ला संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक बर्षमा १० हजार ७ सय ३६ जनाले सूचना र परामर्श लिएका छन् । बाँकेमा सामी कार्यक्रम सञ्चालन भएको चार बर्षको अवधिमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएको नेपालीले बताए ।

नेपालगञ्जमा आज पत्रकारहरुसंगको अन्तरिक्रया कार्यक्रममा चालू आर्थिक बर्ष २०८०-८१ मा बाँकेमा १ करोड १६ लाख ८४ हजार ४ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १४७ समस्यामा उक्त रकम सहजीकरण गरिएको हो । बैदेशिक रोजगारीमा ठगी सम्बन्धि समस्या बढ्दै गएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत बर्ष ठगीका १४ घटना दर्ता भएकोमा यो आर्थिक बर्षमा त्यो संख्या बढेर ४७ पुगेको छ ।

बाँकेमा मृत्युको घटना १८ छ । सामीका सामाजिक परिचालन अधिकृत घनश्याम वलीका अनुसार बाँकेका चार पालिका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित चार चार वटा वित्तीय साक्षरता कक्षामा ४०७ जना सहभागी भएका छन् । यस्तै सीप विकास तालिमका लागि नेपालगञ्जबाट १८, कोहलपुर ३९, खजुरा ९ र बैजनाथबाट २० जना सिफारिस भएका छन् ।

सामीले बैदेशिक रोजागारीका कारण सिर्जित मनोसामाजिक समस्यामा परामर्श पनि दिने गरेको छ । चालू आर्थिक बर्षमा नेपालगञ्जमा ३०, कोलहपुरमा ३०, बैजनाथमा ३२ र खजुरामा ३३ जनामा मनोसामाजिक समस्या पहिचान गरी परामर्श गरिएको छ । कार्यक्रममा बैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन भइरहेका प्रयासबारे जानकारी गराएकी थिइन् ।  

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्