नयाँ बानेश्वरको संसद भवनभित्रै प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

बुधबार, असार ५, २०८१

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संंसद भवनको सुरक्षार्थ खटिएका एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

जवान गोले घटनास्थलमै मृत फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएक्प छ । ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भने, ‘उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए । आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्