जितविहीन बन्दै टी-२० विश्वकपबाट बाहिरियो नेपाल

सोमबार, असार ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।वेष्ट इन्डिजको किंग्सटाउनमा भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । १०७ रनको चुनौती पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमात्र बनाउन सक्यो । 

बिर्सनयोग्य ब्याटिङ गर्ने क्रममा २६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि छैटौँ विकेटको साझेदारीले उक्त योगफलसम्म लगेको हो । 

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लबीच ५२ रनको साझेदारी भएको थियो । सो क्रममा मल्ल ४० बलमा १ छक्का र १ चौकाको मद्धतले ४० बलमा २७ रन बनाए । दीपेन्द्रले ३१ बलमा १ छक्का र २ चौकाको मद्धतले २५ रन बनाए । 

आसिफ शेखले १४ बलमा १७ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४ रन बनाए भने रोहित पौडेल र सन्दीप जोराले १–१ रन बनाउँदा गुल्सन झा, सन्दीप जोरा, अविनाश बोहरा र सन्दीप लामिछानेले रनको खाता खोल्न सकेनन् । 

तन्जिम हसल सकिबले ४, मुस्तफिजुर रहमानले ३ तथा शकिब अल हसनले २ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै बंगलादेशलाई १०६ रनमा रोक्यो । 

बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाएको हो । शकिब उल हसनले सर्वौधिक १७ रन बनाए । 

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने दुई खेलाडी रनआउट भएका थिए । 

जवाफमा ब्याटिङमा उत्रिएको नेपालले खराब शुरुआत गरेको छ । ३ ओभरमा ९ रन जोड्दा २ विकेट गुमायो । कुशल भुर्तेलले ८ बलमा ४ तथा अनिल साहले रनको खाता नखोली आउट भए।

–नेपाललाई पहिलो बलमै सफलता मिलेको थियो । सोमपाल कामीले पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गर्न सफल भएका हुन्। –नेपालले पहिलो ओभरमै दोस्रो विकेटका रुपमा अम्पायरले आउट दिएका भए पनि बंगलादेशले लिएको रिभ्युमा भने सफलता हासिल गरेको थियो । 

–दोस्रो ओभरमा नेपालले दोस्रो विकेट लियो । दीपेन्द्र सिंह ऐरीले आफ्नो तेस्रो बलमै विकेट लिन सफल भए । उनले कप्तान निजामुल हसन शान्टोलाई बोल्ड आउट गरे । 

–तेस्रो विकेटका रुपमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए । उनले लिटन दासलाई व्यक्तिगत १२ रनमा आउट गरे । 

–चौथो विकेट कप्तान रोहित पौडेलले लिए । उनले आफ्नो बलिङको चौथो बलमा टहिट हृदयलाई आउट गरे । उनले गरेको बलिङमा सन्दीप लामिछानेलाई क्याच थमाएका थिए । 

–पाँचौँ विकेटका रुपमा सन्दीप लामिछाने र गुल्सन झाले महमुल्लाहलाई व्यक्तिगत १३ रनमा रनआउट गरे । 

–छैटौँ विकेटका रुपमा रोहित पौडेलले व्यक्तिगत दोस्रो विकेट लिए । उनले शकिब उल हसनलाई व्यक्तिगत १७ रनमा एलबीडब्ल्यू आउट गरे । 

–सातौँ विकेट सन्दीप लामिछानेले लिए । उनले तान्जिम हसन सकिबलाई व्यक्तिगत ३ रनमा बोल्डआउट गरेका हुन् ।  

– आठौँ विकेटका रुपमा सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिए । जाकर अलीलाई व्यक्तिगत १२ रनमा बोल्ड आउट गरे । योसँगै सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् । 

–नवौँ विकेट दीपेन्द्र सिंह ऐरीले लिए । उनले रिशद हुसेनलाई व्यक्तिगत १३ रन बनाउँदा अनिल साहलाई क्याच दिलाउन पुगे । 

– दशौँ विकेटका रुपमा मुस्तफिजुर रहमान व्यक्तिगत ३ रन बनाउँदा रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले रन आउट गरे । 

यो हारसँगै नेपालको जारी विश्वकपको यात्रा सकिएको छ । नेपालले रद्द भएको खेलमा श्रीलंकाबाट अंक बाँड्यो भने नेदरल्याण्ड्ससँग ६ विकेटको तथा दक्षिण अफ्रिकासँग एक रनको हार बेहोरेको थियो । नेपालले बलिङतर्फ सबैको मन जिते पनि ब्याटिङमा भने बिर्सनयोग्य नै प्रदर्शन गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्