राज्य व्यवस्था समिति बैठकमा जब एनजीओको खाजा पुग्यो......

आइतबार, असार २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।

समितिका सदस्य हृदयराम थानीका अनुसार आज बिहान ८ बजे बोलाइएको बैठकमा उनी केही मिनेट ढिला पुगेका थिए । ‘म चार मिनेट जति ढिलो पुगेको थिएँ । जाँदा टेबुलमा काँटा चम्चा देखेँ । के हो यस्तो भनेर सुरुमा मैले नै कुरा उठाएँ,’ सांसद थानीले भने ।

समितिमा ‘भीआईपी खाजा’ पक्कै कसैले स्पोन्सर गरेको होला भनेर आफूले जिज्ञासा राखेको, त्यमसा अन्य सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएको उनले जानकारी दिए ।

छलफलमा सांसदहरूले समितिमै एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठूलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने बताए । बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रवि लामिछाने बैठक शुरु नहुँदै बाहिरिएका थिए ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा  ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल’ गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले पनि बैठकमा मंहगो मूल्यका खाजा ल्याएको थाहा पाएपछि सोधखोज गरेका थिए ।

त्यसपछि एलएक्सपिटिडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछाने बैठक शुरु नहुँदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफूल, जाम–पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले बताए । 

गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्