आजको कांग्रेस बैठकमा महामन्त्री र उपसभापतिको जवाफ

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि नसकिने भएको छ।

यसअघि आइतबार नै बैठक सक्ने तयारी गरिएको भए पनि लम्ब्याउने नियतले आजको बैठक दिउँसो ३ बजेमात्र डाकिएको छ ।  

शनिबारबाहेक हरेक दिन बस्दै आएको बैठक थप लम्बिने भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि बैठक बिहान ११ बजेदेखि बस्दै आएको थियो । आजको बैठकमा केहीले मात्र बोल्न बाँकी छ। तर त्यसपछिका काम भने सिंगै बाँकी छन् । 

आज महामन्त्रीद्धय र उपसभापतिद्धयले जवाफ दिने साउन २ देखि चलिरहेको बैठकमा अहिलेसम्म केन्द्रीय सदस्य एवं पदाधिकारीहरुले बोलिसकेका छन्। आजको बैठक विशेष हुनेछ । 

आजको बैठकमा अहिलेसम्म उठाइएका विषय र अबको रणनीतिका बारेमा महामन्त्रीद्धयले जवाफ दिनेछन् । खासगरी दुवै महामन्त्रीहरुले केन्द्रीय सदस्यहरु एवं पदाधिकारीहरुले उठाएका प्रश्नलाई सहज ढंगले जवाफ दिने तयारी भइरहेको स्रोतले बताएको छ । 

त्यसो त अहिलेसम्म धेरैजसो केन्द्रीय सदस्य एवं पदाधिकारीहरुले सभापति शेरबहादुर देउवालाई देवत्वकरण गर्ने क्रममा महामन्त्रीहरुलाई गालीमात्र गरे। 

पहिलो पटक प्रत्यक्ष प्रशारण भएको कांग्रेस बैठकलाई संसारभरबाट नियालिरहेका छन् । पार्टीको रणनीति बनाउने बैठक भए पनि प्रत्यक्ष प्रशारण हुँदा पनि आफ्नो सीमा र मर्यादा नाघेरसमेत केही केन्द्रीय सदस्यहरुले त गालीमै जोड दिएका थिए । 

एक केन्द्रीय सदस्य भन्छन्, बैठकमा साथीहरुले अब कसरी अगाडि बढ्ने भन्ने ठूलो चुनौती रहँदा पनि उहाँहरु महामन्त्रीहरुलाई गाली गरे ठूलो भइन्छ भन्ने मानसिकता पाल्नुभएको पाइयो । यो उहाँहरुको कुण्ठा हो । गाली राजनीतिले अगाडि बढिँदैन ।’

उनले कांग्रेसको स्थायित्व रहिरहन थुप्रै चुनौतीको सामना गर्नुपर्ने भएकाले महामन्त्रीद्धयले व्यक्तिस्वार्थ र आफ्नो आलोचनाको भन्दा पनि कांग्रेसलाई सशक्त र जनमुखी पार्टी बनाउन गहन मार्ग खोज्ने बताए । 

उनका अनुसार महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जवाफ दिने कुरा धेरै छन् तर त्यो भन्दा पनि भड्किएका र लोकतन्त्र बिर्सेका केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्ने गरी योजना ल्याउने छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्