टी-२०विश्वकप: बंगलादेशले नेदरल्याण्ड्सलाई हराउँदा नेपाल दवावमा, ओमानमाथि इङ्गल्याण्डको कीर्तिमानी जित

शुक्रबार, जेठ ३२, २०८१
Neuro hospital Nepalgunj

 काठमाडौं ।  टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह डी को खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले हराएको छ । गए राति अमेरिकाको किङ्सटाउनमा भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि २५ रनको जित हासिल गरेको हो । 

पहिले ब्याटिङ गरेको बंगलादेशले ५ विकेटको क्षतिमा १५९ रन बनायो । शकिब अल हसनले ४६ बलमा अविजित रहँदै ६४ रन जोडे । त्यस्तै तन्जिद हसनले २६ बलमा ३५ रन बनाए । 

आर्यन दत्त र पल भान मिकेरेनले २–२ विकेट लिए । 

जवाफमा नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो । साइब्राण्ड एन्जलब्रेच्टले २२ बलमा ३३ रन बनाए । रिशद हुसेनले ३ तथा तस्किन अहमदले २ विकेट लिए । 

यो खेलपछि बंगलादेशको सुपर एट सम्भावना बलियो भएको छ भने नेपाल दबाबमा परेको छ । 

अंक तालिका

३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुगिसकेको छ । ३ खेलबाट ४ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने ३ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । श्रीलंका भने सुपर एटको होडबाट बाहिरिएको छ । 

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । 

नेपालले शनिबार बिहान बलियो प्रतिद्धन्द्धी दक्षिण अफ्रिकासँग खेल्नेछ । यो खेल जित्दा नेपालको सुपर एट सम्भावना बलियो हुनेछ । 

दक्षिण अफ्रिकालाई हराउन सक्यो भने नेपालको मनोबल उच्च हुँदा अन्तिम खेलमा बंगलादेशसँग पनि सकारात्मक परिणाम आउने छ । 

नेपालको टिममा सन्दीप लामिछाने पनि हुने भएकाले नेपालको आशा बलियो रहने छ । विपक्षी टिमको मनोबल खस्किन सक्छ । 

इङल्याण्डले ओमानलाई सस्तैमा हरायो

आज बिहान समूह बी को सम्पन्न खेलमा इङ्गल्याण्डले ओमानमाथि कीर्तिमानी ८ विकेटको जित हासिल गर्यो।नर्थ साउन्डमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै ४७ रनमात्र बनाउन सक्यो । शोएब खानले दोहोरो स्कोर जोड्ने क्रममा सर्वाधिक ११ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अदिल रशिदले ११ रन खर्चेर ४ तथा जोफ्रा आर्चर र मार्क उडले समान १२ रन खर्चेर समान ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ३.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान जोस बटलरले ८ बलमा अविजित रहँदै २४ तथा फिल साल्टले ३ बलमा १२ रन बनाए । 

मात्र १६.३ ओभरमात्र खेल सम्भव भएको थियो । इङ्गल्याण्डले सबैभन्दा कम बलमै जित हासिल गर्ने रेकर्ड राख्यो भने जारी विश्वकपको यो सबैभन्दा छिटो जित हो । त्यस्तै ओमानलाई ४७ बलमै रोकेर सबैभन्दा थोरै रनमा रोक्ने जारी विश्वकपको कीर्तिमान नि इङ्गल्याण्डले राखेको छ । 

यो जितसँगै इङ्गल्याण्डको सुपर एटमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ । 

तर इङ्गल्याण्डले अन्तिम खेलमा नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ भने अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउनु पर्ने हुन्छ । 

अष्ट्रेलिया र स्कटल्याण्डको खेल रद्द भए पनि स्कटल्याण्ड सुपर एटमा पुग्नेछ भने इङ्गल्याण्डले जित नै हासिल गरे पनि बाहिरिने छ । 

यो समूहबाट अष्ट्रेलिया ६ अंकसहित स्कटल्याण्डसँग खेल्नुअघि नै सुपर एटमा पुगिसकेको छ । 

अंक तालिका

समूह बीको खेलमा अष्ट्रेलिया ३ खेलबाट ६ अंकसहित पहिलो स्थानमा रहेको छ । स्कटल्याण्ड ३ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ । 

३ खेलबाट ३ अंकसहित इङ्गल्याण्ड तेस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । 

३ खेलबाट अंकविहीन ओमान पुछारमा छ । अब सुपर एटमा स्कटल्याण्ड र इङ्गल्याण्डमध्ये एक टिम पुग्नेछ । 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्