कुवेतमा आगलागी हुँदा ४२ जना भारतीय नागरिकको मृत्यु

बिहीबार, जेठ ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।  कुवेतको एक भवनमा लागेको आगलागीमा मारिनेको ४९ पुगेको छ। करिब २ सय विदेशी कामदार रहेको एक भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको हो । जसमा आगलागीमा ४२ जना भारतीय कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार ४२ जना भारतीयहरुमा २० देखि ५० वर्षका केरला र तमिलनाडुका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार घाइते र मृतकको शव भारत ल्याउने तयारी गरिएको छ।

उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मङ्गफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन् । मङ्गफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो । 

“दुर्भाग्यवश हामीलाई बिहान ठिक छ बजे मङ्गफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो”, गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल ईद अल–ओवाइहानले भने, “मेरो भवनको पछाडि भएको मृत्यु हुनेहरूको सङ्ख्या भन्दा बढी छ ।”

कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले छ तले उक्त भवनको बाहिरी भागमा कालो लागेको देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन् ।

तेलको धनी मुलुक कुवेतमा ठूलो सङ्ख्यामा विदेशी कामदार छन् । यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन् । 

पीडितहरूको राष्ट्रियता घोषणा गरिएको छैन तर एएफपीले सम्पर्क गर्दा भारतीय राजदूतले अस्पतालमा जीवितहरूसँग भेट्न गएको बताए । 

भारतका विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जालमा समाचारबाट गहिरो स्तब्ध भएको बताएका छन् । साथै उनले दुःखदरूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । घटनामा ४२ जना भारतीय कामदारको मृत्यु भइसकेको छ।

गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरवाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको बताए । उनले सुरक्षा नियमहरूको उल्लङ्घन गर्ने कुनै पनि सम्पत्तिलाई तुरुन्त खाली गरिने चेतावनी दिए ।

“हामी कामदारहरूको भीडभाड र उपेक्षाको समस्यालाई सम्बोधन गर्न काम गर्नेछौँ, आगलागी भएको सम्पत्तिका मालिकलाई कानूनी प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्नेछौँ”, उनले भने । 

इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो । 

आफ्ना पतिले अर्को विवाह गरेको भन्दै बदला लिन सन् २००९ मा एक कुवेती महिलाले विवाह भोजमा पालमा आगजनी गर्दा ५७ जनाको मृत्यु भएको थियो । 

मानिसहरू भित्र खुशीयाली मनाइरहँदा नुसरा अल–एनेजीले पालमा पेट्रोल फ्याँकेर आगो लगाएकी थिइन् । उक्त अपराधका लागि सन् २०१७ मा उनलाई मृत्युदण्ड दिइएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्