किसानका खेतबारीमै पुगेर खेती गर्न सिकाउँदै उपमहानगरपालिको कृषि शाखा

मंगलबार, जेठ २९, २०८१

गौरव गिरी/ बाँके  ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ ढोडे गाउँका तरकारी उत्पादक किसान गया प्रसाद काँदु उपमहानगरपालिकाको कृषि विकास शाखाले सञ्चालन गरेको आइपीएम पाठशाला निकै उपयोगी र सिकाईमूलक भएको बताउँछन् । २९ जना किसान मिलेर गठन गरेको ढोडे गाउँ आइपीएम पाठशालामा आफूहरुले धेरै नयाँ कुराहरु सिक्न पाएकोमा दंग छन्, गया प्रसाद । उनीहरुले यस पाठशालामार्फत लगातार १६ हप्तासम्म ब्रोकाउली उत्पादनका लागि मेहनत गरिरहे । १ कट्ठामा खेती गरेका किसानले माटो परीक्षणदेखि उत्पादित ब्रोकाउली बजारसम्म विक्री गर्ने काम गरेका थिए । चार वटा उपसमूह बनाएर काम गरेका किसानले ब्रोकाउली खेती गर्ने उपयुक्त तरिकाबारे सिकेका थिए । 

नेपालगञ्जको वडा नम्बर १९ फारम टोलका किसान शम्भुनाथ योगी कृषि शाखाले माटो परीक्षण शिविर चलाएपछि आफू जस्तै थुप्र्रै किसान लाभान्वित भएको बताउँछन् । परीक्षणपछि आफूहरुलाई माटोको भौतिक र रासायनिक अवस्थाका साथै खनिज तत्वको पर्याप्तता वा अपर्याप्तताबारे थाहा भएको योगीको भनाई छ । कति जमिनमा कुन मल कति मात्रामा हाल्ने भन्ने जानकारी समेत पाएको उनी बताउँछन् । यो सिकाईको आधारमा अब खेती गर्न सजिलो हुने योगीको बुझाई छ। कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान पनि किसानले पाएका छन् । वडा नम्बर १९ मा आफू जस्तै ७० जना किसान यसबाट लाभाविन्त भएको उनको भनाई छ । कृषि शाखाले १०-१० केजी गड्यौंला मल समेत उनीहरुलाई उपलब्ध गराएको थियो । काँदु र योगी जस्ता कैयौं किसान कृषि शाखाले सञ्चालन गरेको कृषिजन्य विभिन्न गतिविधिबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत रहेको कृषि शाखाले चालू आर्थिक बर्ष २०८०-८१ मा एक दर्जन बढी कार्यक्रम सञ्चालन गरेको छ । कृषि शाखा प्रमुख अम्बिका रिजालका अनुसार माटो शिविर, बाली संरक्षण शिविर, स्थलगत तालिम, हिउँदे र बर्खे सिजनको मिनी किट ९तरकारीको बीउ० वितरण, ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण, तरकारी खेती गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहन अनुदान, ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रम सम्पन्न भएका छन् । यस्तै तरकारी बालीमा आइपीएम कृषक पाठशाला सञ्चालन, पोषण सुधारका लागि कौसी खेती प्रबद्र्धन कार्यक्रम, तरकारी प्रबद्र्धन कार्यक्रम, एक घर एक करेसाबारी कार्यक्रम, किसान सूचीकरण कार्यक्रम, २०७९-८० मा स्थापना भएका च्याउ तथा तरकारी बालीको पकेट निरन्तरता, ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण, विषादी वितरण लगायत कार्यक्रम सम्पन्न गरिएका छन् । 

रिजालका अनुसार वडा नम्बर १९ बाट ८० र २३ बाट ६६ नमुना संकलन गरेर माटो परीक्षण गरिएको थियो । १०० बढी किसान लाभान्वित भएको माटो शिविर सुरु गर्नु अघि नमुना संकलन गर्ने तरिका सिकाउन अभिमुखीकरण गोष्ठी गरिएको थियो । यस्तै वडा नम्बर १४, १५ र १६ मा फिल्डमै पुगेर ४५-४५ जना किसानको विरुवा जाँच गर्न बाली संरक्षण शिविर पनि सञ्चालन भएको थियो । कृषि शाखाले च्याउ र तरकारी खेती प्रबद्र्धन गर्ने उद्देश्यले वडा नम्बर ६, १५, २० र २२ मा ८ वटा स्थलगत तालिम सञ्चालन गरेको छ । जसमा ४०-४० जना सहभागी थिए । नगरभित्रका ६०० जना किसानलाई हिउँदे र बर्खे सिजनको मिनी किट (तरकारीको बीउ) वितरण गरिएको छ । तरकारी खेती गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहन अनुदान पनि वितरण गरिएको छ । रिजालका अनुसार ३० जना कृषकलाई प्रति ब्यक्ति २० हजार अनुदान दिइएको छ । किसानले ५ कट्ठामा खेती गर्नुपर्दछ । 

सहकारीमार्फत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण बाँडिएको छ । यो अनुदान तीन वटा सहकारीले पाएका छन् । वडा नम्बर १७ र २२ मा आइपीएम कृषक पाठशाला कार्यक्रम अन्तर्गत दुई वटा समूहका किसानलाई प्रत्यक्ष निगरानीमा ब्रोकाउली र बन्दा खेती गर्न सिकाइएको छ । यसमा जग्गा तयारीदेखि उत्पादनलाई बजारमा विक्री गर्नेसम्मको तवरतरिका सिकाइन्छ । यस्तै नमुनाको रुपमा पोषण सुधारका लागि कौसी खेती प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेर २५ जनाको एउटा समूह बनाएर सुरु गरिएको छ । तरकारी प्रबद्र्धन कार्यक्रम अन्तर्गत एउटा कृषि सहकारी र ७ जना किसान गरी ८ जनालाई प्रति हेक्टर १ लाख अनुदान दिइएको छ । 

कृषि शाखा प्रमुख रिजाल यस बर्ष १९ नम्बर वडाबाट किसान सूचीकरण कार्यक्रम पनि सुरु गरिएको बताउँछिन् । एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत प्रति ब्यक्ति पाँच हजारका दरले ३ वटा समूहका १०० जनालाई सहयोग उपलब्ध गराइएको छ । २०७९-८० मा स्थापना भएका च्याउ तथा तरकारी बालीको पकेट क्षेत्रलाई पनि निरन्तरता दिइएको छ । यो बर्ष च्याउ फर्मलाई ६ लाख र तरकारी उत्पादक समूहलाई ४ लाख ९८ हजार उपलब्ध गराइएको छ । गत बर्ष १० लाख दिइएको थियोे । यस्तै धानको ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । १४ र १८ नम्बर वडाका ५ वटा सहकारी र ३० जना किसानलाई धानको बीउ वितरण गरिएको छ । कृषि शाखाले विषादी पनि वितरण गर्दै आएको छ । आफ्नो स्रोतसाधन र सामथ्र्यले भ्याएसम्म कृषि शाखा किसानसंग जोडिएर अगाडि बढिरहेको रिजाल बताउँछिन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्