किसानसँग जोडिँदै पशु सेवा शाखा

सोमबार, जेठ २८, २०८१

गौरवगिरी / नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का खगेन्द्रप्रसाद न्यौपाने शुद्ध गोरस दुग्ध उत्पादक सहकारी संस्था चलाउँछन् । उनी यसको अध्यक्ष हुन् । यो सहकारीमा ३२० किसान आबद्ध छन्। ती मध्ये १५१ जना पशुपालक किसानले दुध उत्पादन गर्दछन् । दैनिक ८०० देखि १००० लिटर दुध बजारमा खपत हुन्छ । उनीहरुको यो कर्ममा नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सघाएको पनि छ । पशु सेवा शाखाले उपलब्ध गराएको बर्सिम र जै घाँस शुद्ध गोरसले पनि पाएको छ अनि उनीहरुको घाँस उत्पादन कार्यमा केही टेवा पुर्याएको छ । तर, घाउँको बीउ थारै पाउने गरेको गुनासो उनको छ । पशु सेवा शाखाले सञ्चालन गर्ने पशुजन्य विभिन्न गतिवधिहरुबाट शुद्ध गोरसका किसानले कुनै न कुनै रुपमा लाभ लिइरहेका छन् ।

नेपालगञ्ज राँझा विमानस्थल नजिकै महालक्ष्मी भैंसी फाराम सञ्चालन गरेकी निर्मला सापकोटा पनि पशु सेवा शाखाले विभिन्न सहयोग गरिरहेको बताउँछिन् । सापकोटा बेला बेलामा तालिम लिएको स्मरण गर्छिन् । पशुजन्य विभिन्न रोगका औषधि समेत पशु सेवा शाखाबाट आफूले पाएको उनको अनुभव छ । तर, घाँसको बीउमा कटौती गरिएकोमा भने उनको गुनासो छ । बर्षेनी बढाउँदै लैजानुपर्ने परिमाण घटेको उनी बताउँछिन् । किसानलाई लाभ पुग्ने गरी अझै अन्य पशु कल्याणकारी कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गनुपर्ने उनको भनाई छ । खगेन्द्र र निर्मला जस्ता नगरका थुप्रै किसान पशु सेवा शाखाको सेवाबाट सन्तुष्ट त छन्, तर अझै सेवा विस्तार गर्न सके धेरै लाभ पुग्ने उनीहरुको बुझाई छ । यी त प्रतिनिधिमूलक पात्र मात्र हुन् । नगरका थुप्रै किसान पशु सेवा शाखासंग जोडिएका छन् । 

पशु सेवा शाखाले बार्षिकरुपमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दछ । हरेक आर्थिक बर्षमा विभिन्न क्रियाकलाप सञ्चालन हुन्छन् । चालू आर्थिक बर्ष २०८०-८१ म स्वच्छ मासु उत्पादन तालिम, बाख्रापालन तालिम, कुखुरापालन तालिम, निःशुल्क पशु स्वास्थ्य तथा परजिबी नियन्त्रण शिविर, बर्सिम र जै घाँस खरिद तथा वितरण कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम, गाईभैंसीमा भ्यागुते र चर्चरे रोगको खोप, भेडाबाख्रामा पीपीआर खोप, सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर लगायतका गतिविधिहरु सम्पन्न भएका छन् ।  

पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही आफ्नो स्रोत साधन र सामथ्र्यले भ्याएसम्म किसानसम्म जोडिएर विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँछिन् । शाही किसानले प्रत्यक्ष र प्रत्यक्षरुपमा लाभ लिइरहेको दाबी समेत गर्छिन् । चालू आर्थिक बर्षमा वडा नम्बर १ र ४ का १५-१५ जना मासु व्यवसायीलाई स्वच्छ मासु कसरी उत्पादन गर्ने, उपभोक्ताको भान्सासम्म स्वच्छ मासु पुर्याउनका लागि के कस्ता सावधानी अपनाउने लगायतका विषयमा तीन दिनसम्म स्वच्छ मासु उत्पादन तालिम दिइएको छ । त्यसको प्रभाव मूल्यांकन गर्न तालिम दिइएको केही समयपछि स्थलगत अनुगमन समेत गरिएको छ । 

पशु सेवा शाखाले तीन दिने बाख्रापालन र कुखुरापालन तालिम पनि दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका ३०-३० जना किसानलाई तालिम दिइएको छ । यस्तै वडा नम्बर १४, २० र २३ मा निःशुल्क पशु स्वास्थ्य तथा परजिबी नियन्त्रण शिविर सञ्चालन गरेर करिब ५०० सय पशुको स्वास्थ्य जाँच गरिएको पशु स्वास्थ्य प्राविधिक अच्युत गौतम बताउँछन् । उनका अनुसार २३० वटा गाईभैंसीमा कृत्रिम गर्भाधान समेत गरिएको छ । 

गाईभैंसीलाई विभिन्न रोगहरुको प्रकोपबाट जोगाउन खोप अभियान पनि सञ्चालन गरिएको छ । शाखा प्रमख शाहीले भ्यागुते र चर्चरे रोगबाट गाईभैंसालाई बचाउन नगरका २० हजार पशुलाई खोप लगाइएको छ। यस्तै भेडाबाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध नगरका विभिन्न वडामा सञ्चालिन खोप अभियानबाट २५ हजार पशु प्रत्यक्ष लाभान्वित भएका छन् । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकले निश्चित अवधिसम्म भ्याक्सिनेटर नियुक्त गरेर खटाएको पनि थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या घटाउँदै रेबिज रोगको जोखिम कम गर्न प्रत्येक बर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर गरिरहेको छ । चालू आर्थिक बर्षमा पनि यो कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेर २३० वटा कुकुरहरुको बन्ध्याकरण गरिएको पशु स्वास्थ्य प्राविधिक गौतम बताउँछन् । किसानलाई घाँसको बीउ वितरण गर्न बर्सिम र जै घाँस खरिद गरिएको थियो । त्यसै अनुसार ३०० केजी जै र ११ केजी बर्सिम घाँसको बीउ वितरण गरिएको छ । बीउ पाउँदा किसान लाभान्वित देखिन्छन्। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्