टी-२० विश्वकप: १२० रन बनाउन नसक्दा भारतसँग हार्‍यो पाकिस्तान

सोमबार, जेठ २८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आईईसीसी टी-२० विश्वकप क्रिकेटको समूह ए अन्तर्गत भारत पाकिस्तानबिचको खेलमा पाकिस्तान ६ रनले पराजित भएको छ।

गएराति अमेरिकाको न्यु योर्कमा  भारतले दिएको  १२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तनले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ११३ रनमात्र बनाउदै पराजित बनेको हो ।

पाकिस्तानका कुनै पनि ब्याटर भारतीय बलरसामू खुलेर खेल्न सकेनन् । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यसबाहेक, इमाद वसिमले १५ रन थप्दा कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन जोडे ।

पाकिस्तानलाई कमजोर योगफलमै रोक्न भारतका जसप्रित बुमराहले तीन विकेट लिए । कसिलो बलिङ गरेका बुमराहले ४ ओभरमा १४ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । ट्वान्टी २० विश्वकपको इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई अलआउट गरेको हो ।

भारतका ऋषब पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन थपे । यसबाहेक, भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका दुई ब्याटर गोल्डेन डक हुँदै पभेलियन फर्किएका थिए । 

भारतलाई मध्यम योगफलमा रोक्न पाकिस्तानका चार तिव्र गतिका बलरले ९ विकेट लिए । पाकिस्तानका नसिम साह र ह्यारिस रौफले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका नसिमले २१ र तीन ओभर बलिङ गरेका रौफले पनि २१ रन नै खर्चिए ।

यसबाहेक, मोहम्मद आमिरले दुई विकेट लिँदा साहिनसाह अफ्रिदीले एक विकेट हात पारे ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । दुई खेलबाट ४ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारतले यसअघि पहिलो खेलमा आयरल्यान्डलाई ८ विकेटले हराएको थियो । यता प्रतियोगितामा लगातार दुई हार बेहोरेको पाकिस्तानको भने सुपर ८ मा पुग्ने सम्भावना कमजोर बनेको छ । तालिकाको चौथो स्थानमा रहेको पाकिस्तान यसअघि पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्