गिरीबन्धु टी-स्टेटको फाइल खोलेर देखाउन गृहमन्त्रीलाई चुनौती

बिहीबार, जेठ २४, २०८१

काठमाडौं । गिरीबन्धु टी- स्टेटको फाइल खोलेर देखाउन गृहमन्त्री रवि लामिछानेलाई सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनौती दिएका छन् । 

महामन्त्री शर्माले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानबिन गर्न चुनौती दिएका हुन् ।

उनले गिरीबन्धुको अनुसन्धानको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्रीलाई प्रश्न गरे । महामन्त्री शर्माले गृहमन्त्रीले गिरीबन्धु टी- स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने बताए । उनले ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापति समेत रहेका गृहमन्त्रीले बोल्न नसकेको बताए।

उनले संसद बैठकबाट भने – ‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरीबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उन सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उनले दमदार ढङ्गले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उनले भन्न सक्नुभएन । विवाह कसले को सँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अघिल्लो पुस्ताका कोही पनि अग्रज आदरणीय नेताहरूले पछिल्लो पुस्ताका जुनसुकै दलका हुन उदाउँदै गरेको राजनीतिक नेतृत्वलाई निरुत्साहित गर्नुहुन्न । प्रोत्साहित गर्नुपर्छ ।’

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्