नेपालगन्जको १५ नं. वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बिहीबार, जेठ २४, २०८१

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर १५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आज विहान एक कार्यक्रमका बीच वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

पिप्रहवा स्वास्थ्य चौकीको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा स्वास्थ्य संस्था प्रमुख जयराम पाण्डेले प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा अध्यक्ष मदन विक्रम शाहको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । पाण्डेका अनुसार वडा नम्बर १५ मा कुनै पनि खोप नलगाएका ८ जना र आंशिक खोप लगाएका ५३ जना बालबालिकालाई खोप लगाइएको छ । वडाका सबै २४३ बालबालिकालाई पूर्ण खोप दिएपछि आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । त्यसक्रममा महिला स्वास्थ्य स्वयंसेविकहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नियमितरुपमा सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने बताए । उनले प्रत्येक वर्ष खोप लगाउन छुटेका बालबालिकालाई पहिचान गरेर खोप लगाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्ने बताए ।

२०७६ सालमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप नगर घोषणा गरिएको थियो । हरेक वर्ष सबै वडा र नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्दछ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्