टी-२० विश्वकप: अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो

बिहीबार, जेठ २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । टी-२० विश्वकपको अष्ट्रेलिया र ओमानबिचको खेलमा अष्ट्रेलियाले जित निकालेको छ। अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी शुरुआत गरेको हो । 

अष्ट्रेलियाले कमजोर ओमानमाथि ३९ रनको जित हासिल गरेको हो । ब्रिजटाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १६४ रन बनायो । 

कमजोर आँकिएको ओमानविरुद्ध रन जोड्न संघर्ष गरेको अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३५ बलमा अविजित रहँदै ६६ रन जोडे । 

त्यस्तै डेभिड वार्नरले ५१ बलमा ५६ रन जोडे । कप्तान मिचेल मार्शले २१ बलमा १४, ट्राभिस हेडले १० बलमा १२ रन बनाए भने ग्लेन म्याक्सवेल डकआउट (शून्यमा पहिलो बलमै) भए । ओमानका मेहरान खानले २ विकेट लिए । 

जवाफमा ओमानले ९ विकेटको क्षतिमा १२५ रन बनायो । ५७ रन जोड्दा ६ विकेट गुमाइसकेको ओमानलाई अष्ट्रेलियाले अलआउट गर्न सकेन । आयान खानले ३० बलमा ३६ रन बनाए । मेहरान खानले १६ बलमा २७ रन जोडे । 

अष्ट्रेलियाका लागि अलराउन्डर मार्कस स्टोइनिसले ३ तथा जोश हाज्लेउड, नाथलन एसियास र एजम जम्पाले २–२ विकेट लिए । 

यो खेलपछि समूह बीमा अष्ट्रेलिया २ अंकसहित पहिलो स्थानमा छ । ओमानलाई सुपर ओभरमा हराएको नामिबिया २ अंकसहित दोस्रो तथा एक एक अंकको इङ्गल्याण्ड र स्कटल्याण्ड तेस्रो र चौथो स्थानमा छन् । ओमान भने दुवै हारबाट पुछारमा छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्