वर्खा नजिकिदै गर्दा नेपालगञ्जको वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

बुधबार, जेठ २३, २०८१

बाँके । नेपालगञ्जमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । आज जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा वाटरपार्कमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरेका थिए । त्यसमा नेपाली सेनाका ६० जना, सशस्त्र प्रहरीका ४५ जना र नेपाल प्रहरीका २० जना सहभागी थिए ।

स्रोतसाधन, क्षमता र जनशक्तिको प्रभावकारी समन्वय गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाउन संयुक्तरूपमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।  वर्षेनी आउने बाढी र त्यसले पार्ने क्षती न्यूनीकरण गर्ने र सबै सरोकावालाबीचको समन्वय प्रभावकारी वनाउने उद्देश्यले कृत्रिम अभ्यास गरिएको हो । जिल्ला विपद समितिले बाँकेले विभिन्न प्रकोपबाट २५ हजार घरपरिवार र मनसुनजन्य विपदबाट १५ हजार घरपरिवार प्रभावित हुने आँकलन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र रिजाल, नेपाली सेनाको श्री नम्बर ४ बाहिनीका बाहिनीपति एवं सहायक रथी रोशन शमशेर जबरा र रेडक्रसका जिल्ला सभापति गोवद्र्धन सिंह सम्झनाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यस प्रकारको अभ्यास गरेर साधन, स्रोत र जनशक्तिलाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।

बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास कार्यक्रममा बज्र दलका गणपति एवं प्रमुख सेनानी रविन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय जोरासिंह माझी र लालबहादुर गुरुङ, बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्रका एसपी विमल डाँगी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्