दार्चुलाबाट आउँदै गरेको जिप दुर्घटना, नाबालिकासहित दुईको मृत्यु, ७ जना घाइते

बुधबार, जेठ २३, २०८१
Neuro hospital Nepalgunj

डोटी। डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक नाबालिका र एक महिलाको मृत्यु भएको डोटी प्रहरीले जानकारी दिएको छ।

आज बिहान दार्चुलाबाट कैलालीको धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिकाको वडा नं. १ को खडिनामा दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै र एक बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने बालिका दार्चुला लेकम गाउँपालिका वडा नं.६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिका पार्की हुन् भने अर्की मृतक महिलाको पहिचान खुलेको छैन ।

जिप दुर्घटनामा बैतडी डिलासैनी गाउँपालिका वडा नं.५ का १९ वर्षीय जिप चालक वासुदेव नाथ, दार्चुलाकै सोही गाउँपालिका वडा नं. ६ का ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी वडा नं. ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी वडा नं. ३ की २२ वर्षीया रमिता ओड, मालिकाअर्जुन गाउँपालिका वडा नं. ४ का ७४ वर्षीया मानमति धामी र मृतक बालिका रितिकाका बुवा हरिश र आमा भावना ओड घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइते सबैको उपचार भइरहेको प्रहरीले जनाएपनि सबै खतरामुक्त रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्