मिथिलाञ्चलका विवाहित महिलाले वटसावित्री पर्व मनाउदै

बुधबार, जेठ २३, २०८१
Neuro hospital Nepalgunj

धनुषा । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै  वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन् । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।

वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ । वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन ।
यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ ९प्रसाद सामग्री० बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ ।

बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ । मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउने गरेका छन् । रासस।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्