दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सडक स्वास्थ्य सहायता केन्द्र

बुधबार, जेठ २३, २०८१

राप्तीसोनारी। बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पुर्व-पश्चिम् राजमार्गमा बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि  राप्ती सोनारी गाउँपालिकामा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको छ । 

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा राप्ती सोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको  गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिएका छन् । 

अध्यक्ष पौडेलले राप्तीसोनारी-८ स्थित शम्शेरगन्जमा स्थापना भएको सडक स्वास्थ्य सहायता केन्द्रले दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।  पौडेलले बढ्दो सवारी दुर्घटनाका कारण ठूलो मानवीय धनजनको क्षती भइरहेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक स्वास्थ्य सहायता केन्द्रले त्यसको न्यूनीकरणमा बल पुर्याउने बताए ।

दुर्घटना न्यूनीकरणका लागि जनचेतना जरुरी रहेको बताउँदै गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले भनिन्-" ट्राफिक नियमको बारेमा सबैलाई जानकारी गराउनु आवश्यक रहेको हुँदा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमामा वडा नं.८ शम्शेरगन्जसँगै राप्तीसोनारी-१ कुसुम र राप्तीसोनारी-४ स्थित बैजापुरमा पनि मोवाईल सहायता सेवा केन्द्र समेत स्थापना गर्छौ।"

शम्शेरगन्जमा स्थापना भएको स्वास्थ्य सहायता केन्द्रमा दैनिक स्वास्थ्यकर्मी र ट्राफिक प्रहरी राखेर सेवा दिइने गाउँपालिकाले जनाएको  छ । ती स्वास्थ्यकर्मी र ट्राफिकले दिनभरी मापसे, चेकिङ्गसँगै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने  भएको छ । मोबाईल सहायता केन्द्र कुसुम र बैजापुरमा भने महिनाको ५ दिन मात्रै उक्त कार्य गरिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्