टी-२० विश्वकप: नेपालको खराब प्रदर्शन, नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

बुधबार, जेठ २३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गर्दै पराजित भएको छ। नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको हो ।  खेलमा १०७ रनको झिनो चुनौती पाएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य  पूरा गरेको हो । नेपालको हारको कारण खराब फिल्डिङ्ग पनि रह्यो । केही क्याच खेलाडीले छाडेका थिए । 

म्याक्स ओ’डोडले अविजित रहँदै ४८ बलमा ५४ रन बनाएको इनिङस्मा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । सोमपालले एक खेलाडीलाई रन आउट गरेका थिए । 

यसअघि अमेरिकाको डालास मैदानमा बुधबार बिहान बाह्रौँ खेलाडीका रुपमा १५ हजार नेपाली समर्थकबीच खेलेको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि टी–२० विश्वकपको इतिहासकै सबैभन्दा कान्छा २१ वर्षीय कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाएर आउट भए । 

५ चौका प्रहार गर्दै सम्हालिएर खेल्दै आएका रोहित गलत प्रहारका कारण पभेलियन फर्किनुपर्यो । 

उनले व्यक्तिगत २ रन बनाउँदा अम्पायरले आउट दिएको भए पनि रिभ्यु लिएर बचेका थिए ।

करण केसीले १२ बलमा २ छक्काको मद्धतले १७, गुल्सन झाले १५ बलमा १ छक्काको मद्धतले १४ रन बनाए । 

त्यस्तै अनिल साह १२ बलमा ११, कुशल मल्ल ९ बलमा ९ कुशल भुर्तेल १० बलमा ७ तथा आसिफ शेख ८ बलमा ४ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भए । 

सन् २०१४ को विश्वकप खेलेका एकमात्र खेलाडी रहेको यो टिमका अनुभवी खेलाडी सोमपाल कामी भने ६ बलमा रनको खाता नै नखोली आउट भए । सागर ढकाल पहिलो बलमै डकआउट भए । 

नेदरल्याण्ड्सका लागि टिम प्रिंगल र लोगान भान बीकले समान ३–३ तथा पल भान मिकेरेनले र बास डे लिडे २–२ विकेट लिए । 

समूह डीमा रहेको नेपाल र नेदरल्याण्ड्स विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् ।  यो हारसँगै अहिलेसम्म आपसमा भएका टी–२० मा नेदरल्याण्ड्सले ७ तथा नेपालले ५ खेल जितेको छ । 

यो समूहमा नेपाल र नेदरल्याण्ड्ससहित दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्