अध्यागमन विभागका कर्मचारीलाई छुट्टै पोशाक

सोमबार, जेठ २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अध्यागमन विभागका कर्मचारीलाई छुट्टै पोशाक हुने भएको छ। अध्यागमनका कर्मचारीक पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ। यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो।

अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । 

अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ ।

अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए।

“पोसाकले व्यक्तित्व झल्काउनुका साथै कर्मचारी पहिचानसमेत गराउँछ । सरकारी कर्मचारीको हकमा पोसाकले पहिचान, अस्थित्व र गरिमा राख्दछ”, अर्यालले भने, “सेवामा रहँदा अनिवार्य तोकिएको पोसाक लगाउँदा एकरुपता आउनुका साथै अनुशासित पनि बनाउँछ । यो व्यवस्थाले कर्मचारीलाई जिम्मेवार बनाउन र सामूहिक भावनाको विकास गर्ने विश्वास गृहले लिएको छ ।”

निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । 

अध्यागमन सुधारका लागि गृहमन्त्रालयले विभिन्न सुधारका योजना अघि सारिरहेको सचिव अर्यालले बताए। उहाँका अनुसार बिचौलियासँगको सेटिङ भत्काई घुसखोरी रोक्न विभागदेखि कार्यालयसम्मका कर्मचारी परिवर्तन गर्ने, सेवाग्राहीलाई सास्ती दिएको भेटिए तत्काल हटाइ कारबाही सुरु गरिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्