बालेनले केपीलाई भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नझुक्याउनु होस्

सोमबार, जेठ २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन)ले नेकपा एमाललेलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन सचेत गराएका छन् । 

आज सामाजिक सञ्जालमार्फत झापाको गिरीबन्धु टि–स्टेटको जग्गा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिने भनेर थम्थम्याएको भन्दै बालेनले ओलीलाई अर्को काण्ड गरेर जनता झुक्याउने प्रयत्नमा नलाग्न आग्रह गरेका हुन् । 

गिरीबन्धुको काण्डको फाइल कसैले पल्टायो भने ओलीलाई जेल पुर्याउन सक्ने चेतावनी दिँदै यसअघि पनि जेल बसेकै हो भनेर बालेनले सचेत गराएका छन्। मेयर बालेनले समयमै गिरीबन्धुको जग्गा पीडितको बैना फिर्ता गर्न पनि सुझाएका छन् । 

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन। यही १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद।’

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्