गुठी पीडित किसानमाथि प्रहरीले हान्यो १० राउन्ड अश्रुग्यास

आइतबार, जेठ २०, २०८१
Neuro hospital Nepalgunj

दाङ। दाङको घोराहीमा तनावग्रस्त बनेको मालपोत र नापी कार्यालयमा माहोल शान्त पार्न प्रहरीले १० राउन्ड अश्रुग्यास हानेको छ। आज बिहानैदेखि त्यहा गुठी पीडित किसान नाराबाजी गर्दै ती कार्यालयहरुमा तालाबन्दी गर्न गएपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले १० राउन्ड अस्रुग्यास हानेको थियो।

झडपका क्रममा प्रहरीसहित १९ जना घाइते भएका छन्।

९ जना किसान र १० जना प्रहरी घाइते भएका छन् । १ जना प्रहरीको दाँत नै भाँचिएको छ । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको जिल्ला प्रहरी दाङले जनाएको छ।

गुठी पीडित किसान हुलहुल्लज गरी मालपोत र नापी कार्यालयमा जोर जवरजस्ती तालाबन्दी गर्न खोज्दा प्रहरीले त्यो रोक्न खोजेको थियो । त्यसक्रममा प्रहरीले बल लाठी चार्ज गरेको थियो । त्यसपछि किसानले ढुँगा प्रहार गरेका थिए । स्थिती नियन्त्रणमा लिन १० राउन्ड अस्रुँग्यास प्रहार गर्नु परेको दान प्रहरीले जानकारी दिएको छ।

घाइते किसान र केही प्रहरीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी रहेको छ । गुठी पीडित किसानका अगुवाहरु भने प्रहरीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् ।

गत फागुनमा पनि गुठी पीडित किसानले घोराहीमा बिभिन्न चरणका आन्दोलनहरु गरेका थिए । उनीहरुले हलो जुवासहित सडक पर्दशन गरेका थिए । सडकमै सुतेर रित्तो थाल ठटाउँदै प्रर्दशन गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा रातदिन धर्ना दिएका थिए ।

गुठी पीडित किसाको त्यो आन्दोलनलाई त्यतिखेरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिल्ला नेताहरु समेत पुगेर साथ समर्थन गरेका थिए ।

एमालेका यसअघिका अध्यक्ष हुकुमबहादुर बस्नेत, अहिलेका उपाध्यक्ष तथा उतिखेरका सचिव मनोहर बुढाथोकी लगाएका नेताहरु जिल्ला नेताहरु गुठी पीडित किसानको आन्दोलनमा दिनुहुँ जस्तो सहभागी भएका थिए ।

मुलुकको सत्ता समिकरण परिवर्तन भएपछि भने सरकार र गुठी पीडित किसानका बीचमा काठमाडौंमा सहमती भएको थियो ।

गुठी पीडित किसान अहिले फेरि भएको सहमती कार्यान्वय नभएको भन्दै मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका हुन ।अहिले पनि किसानले मालपोत र नापी कार्यालयमा धर्ना जारी राखेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्