बाँकेमा गर्मीले हरिबिजोग बनेपछि गर्मी बिदा लम्बियो

शनिबार, जेठ १९, २०८१

बाँके । बाँकेमा  अत्याधिक गर्मीले हरिबिजोग भएपछि स्थानीय तहले विद्यालयमा गर्मी बिदा लम्ब्याएका छन् ।नेपालगञ्ज उपमहानगरपालिकाले पनि बिदालाई असार ७ गतेसम्म लम्ब्याएको छ । अत्याधिक गर्मी र लुले पठनपाठन गर्न नै समस्या भएपछि विदा लम्ब्याइएको हो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म गर्मी विदा दिएको थियो । 

शिक्षा महाशाखाको क्यालेण्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी विदा दिने उल्लेख छ । तर, जेठको दोस्रो सातादेखि नै गर्मी असाध्यै बढेपछि उक्त विदालाई अगाडि सारेर जेठ २० देखि असार ७ गतेसम्म गर्मी विदा दिने निर्णय गरिएको महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए । अब नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालय असार ९ गते खुल्नेछन् । 

त्यस्तै अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गत सबै शैक्षिक संस्था बन्द गरेको छ ।

विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’ का कारण जनजीवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पूर्ण शैक्षिक संस्थामा गर्मी विदा दिएको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरी विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाएका छन् । उनका अनुसार अधिकांश विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरुलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।    

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्