कमल पोखरीको मेटिदैछ अस्तित्व

आइतबार, साउन ७, २०८०
Neuro hospital Nepalgunj

दाङ । तुलसीपुर रजौरास्थित कमल पोखरी ३६ बर्ष अघिसम्म आसपासका गाउँहरुको पानीको संकट टार्ने कमल पोखरी ताल आज आएर आफै संकटमा परेको छ । डेढ करोड बढी खर्चिएर पोखरी क्रंकिट बनाइएपछि साउन महिनामा पनि त्यसमा एक थोपा पानी छै्न ।

२०४४ सालसम्म यो पोखरीमा कमल ढकमक्क फूलेका हुन्थे । त्यखिखेर कमल पोखरीमा रातो कमलको फूल फूल्ने गर्दथ्यो । त्यसले पोखरी निकै आकर्षक देखिन्थ्यो । ती कमलका फूल, फल र जरा आसपासका मानिसहरुले लैजान गर्थे । त्यही भएर पोखरीको नाम कमल पोखरी राखिएको हो ।

स्थानीय दीपक न्यौपानेको परिवारले पनि औषधिका रुपमा कमलका फल र जरा प्रयोग गरेको गरे बताए । २०४४ साल पछि गोबिन्द रजौरे वडाध्यक्ष बनेको समयमा पोखरी खनेर थप गहिरो बनाइएको हो । कमलको फूलको बिनाश त्यतिखेरै भएको हो ।

यो पोखरीमा बैशाख जेठका एक आध महिना बाहेक २०७४ सालसम्म पानी जहिलै हुन्थ्यो । बिगत पाँच बर्ष पहिलेदेखि पोखरीलाई क्रंकिट बनाउने क्रम सुरु भएपछि तालको पानी सुकेको हो ।

बिगतमा तुलसीपुर आसपासका रजौरा, गोलौरा, राइखलियान, टरिगाउँ, टरिगैं जस्ता सुख्खा क्षेत्रका गाउँहरुका बस्तु चौपाया खडेरीको समयमा यही तालमा आएर प्यास मेट्थे । तुलसीपुरका मेयर टीकाराम खड्काले पाखेरी थप राम्रो बनाउने सोचका साथ काम भएपनि पानी नअडिएपछि अब के गर्ने भन्ने बारे सरसल्लाह भइरहेको बताए ।

पोखरीको विकासका लागि भनेर हालसम्म तुलसीपुर उपमहानगरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयबाट ४६ लाख ५४ हजार तीन सय ५२ र युएसएआइडीको तयार नेपाल कार्यक्रम अन्तरगत भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैंया लगानी भइ सकेको छ ।

तीन निकायको एक करोड ५१ लाख ५९ हजार ९ सय ५३ रुपैयाँले पोखरीको भित्री वाल, भ¥याङ, वालको प्लाष्टर, कम्पाउण्ड, पर्खाल, कमल फूलको प्रतिमा र फूटपाथ निर्माण गरिएका छन् । अब यहाँ एउटा प्रशासनिक भवन, पाले भवन, गेट, पर्खालको प्लाष्टर, बत्ती जडान जस्ता काम हुन बाँकी छ ।

प्राकृतिक सौन्दर्य हराएको कमलपोखरीमा मानव निर्मित सौन्दर्य जोड्ने अदुरदर्सी प्रयासले पोखरीको अस्तित्व नै संकटमा पर्न थालेपछि स्थानीयले बिरोध गर्न थालेका छन् । करोडौं लगानी बालुवामा पानी समान भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्