स्कुल जाँदै गरेकी १५ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई ८ वर्ष जेल

शुक्रबार, जेठ १८, २०८१
Neuro hospital Nepalgunj

सप्तरी । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई ८ वर्ष जेल भएको छ। सप्तरीको  राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सप्तरीले ८ वर्षको जेल सजाय सुनाएको हो।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले ती किशोरलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति, ३६ हजार तीन सय ३३ रुपैयाँ जरिवानासहित ८ वर्षको जेल सजयाको फैसला गरेको हो।

सप्तरी प्रहरीका अनुसार स्कुल गएकी बालिका (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाई ती किशोरले गत २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबी होटेलमा लगेर बलात्कार गरेका थिए ।  १६५ की आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटेलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो। १७ वर्षीय  ती किशोर २०८० को असोज २४ गते पक्राउ परेका थिए । 

जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो । तर विहीबार जिल्ला अदालत सप्तरीले फैसला सुनाउँदै ती किशोरलाई ८ वर्ष जेल सजाय गरेको हो।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्