'सर्पले डसे झारफुक होइन तत्काल अस्पताल ल्याउनुहोस्'

बिहीबार, जेठ १७, २०८१

विकास डाँगी/ तुलसीपुर   जेठ १३ गते दाङको सबैभन्दा पश्चिममा पर्ने बबई गाउँपालिका- ७ रावततराका ६ वर्षीय अभिषेक कुमाँइ छिमेकीको घरमा खेलिरहेको बेला सर्पले डस्यो । उनलाई सर्पले डसेपछि अभिभावक आत्तिए । तर, उनलाई अस्पताल लैजानुको साटो झारफुक गर्न दंगीशरण गाउँपलिकाको बागरमा लगियो ।

बालकलाई कुन सर्पले डसेको हो ? भन्ने थाहा थिएन । अभिषेककी आमा उषा कुमाँइले सर्प थाहा नपाउँदा अस्पतालमा उपचार हुँदैन भन्ने सुनेकी थिइन ।

त्यही भएर उनले अस्पताल नलगी छोरालाई झारफुकका लागि लगेकी थिइन । तर, त्यहाँबाट तत्काल मानिसहरुले अभिषेकलाई तत्काल अस्पताल  लैजान सुझाए । तत्कालै दौडाएर अस्पताल लगिएको हुँदा अभिषेकको ज्यान जोगियो । आमा उषा आज अरुलाई पनि झारफुकमा नलाग्न सल्लाह दिन्छिन्  ।

बालक अभिषेकलाई केही ढिला ल्याएको भए, बचाउन मुस्किल पर्ने अवस्था आउन सक्ने थियो । उनलाई बिहान ७ बजेतिर सर्पले डसेको भएयता पनि परिवारले सवा ९ बजेतिर मात्रै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याई पुर्याएका थिए ।

‘अभिषेकलाई पनि केही समय ढिला गरि मात्रै अस्पताल ल्याएको भए हामीले केही गर्न सक्ने अवस्था हुने थिएन,’ मेडिकल अफिसर डा. सन्दिप न्यौपानेले भने- ‘ अभिषेकलाई कोब्राले डसेको थियो ।’

बर्खाको समयमा सर्पदंशका घटनाहरू बढी हुने गर्छन । त्यस्ता बिरामीलाई झारफुक भन्दा पनि समय मै अस्पताल ल्याउनु पर्ने हुन्छ ।

चिकित्सकहरू त्यही सुझाव दिइरहेका छन् । झारफुकमा लाग्दा धेरै मानिसहरूको अकाल मै ज्यान जाने हुँदा समय मै अस्पताल ल्याउन सकेमा बिरामी बचाउन सकिने अस्पतालका मेडिकल अफिसर डा. न्यौपानेको सुझाव छ । अस्पतालमा आउने सर्पदंशका घटनाहरू मध्य ९० प्रतिशत सुरुमा झारफुक गर्न लग्ने र अन्तिममा अस्पताल ल्याउँदा धेरैले अकालमै ज्यान गुमाउने खतरा उत्पन्न हुने उनले बताए।

सर्पदंश भए जतिसक्यो चाँडो अस्पताल ल्याउन उनले आग्रह गर्छन । ‘करिब दुई हप्ता अगाडि तुलसीपुर-१२ की एक महिलालाई सर्पले डसेको थियो । परिवारका सदस्य सुरुमा झारफुकमा लगेछन्,’ उनले भने ‘ मृत अवस्थामा मात्रै अस्पतालको इमरजेन्सीमा महिलालाई ल्याइएको थियो ।’अस्पताल समयमै नपुगाउँदा र झारफुकमा अल्झिदा ती महिलाको अकालमै मै ज्यान गयो ।

दाङसहित तराईकाविभिन्न जिल्लाहरुमा बर्खा शुरु भएसँगै यतिखेर सर्पदंशका घटनाहरू बढ्दै जाने हुँदा त्यस्ता बिरामीलाई समयमै अस्पताल ल्याउन उनले आग्रह गरेका छन्  ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्