एनआरएनए भित्र आपसी समझदारी र विश्वासको वातावरण बनाउन आबश्यक: नेदरल्यान्डस्-अध्यक्ष कँडेल

बुधबार, जेठ १६, २०८१

नेदरल्याण्डस्। गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डसका   अध्यक्ष थानेश्वर कँडेलले गैरआवासीय नेपाली संघको आवश्यकता प्रवासी नेपाली र नेपालको चौतर्फि विकासका लागि अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । 

मिनेटखबर डटकम युरोप प्रतिनिधिसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष कँडेलले एनआरएन प्रवासमा बस्ने अधिकांस नेपालीहरुको जीवन शैली र अधिकारसंग जोडिएकोले यो बिषय नेपाल सरकार र एनआरएनए दुबैले गंभीरताका साथ लिनु पर्ने बताए । 

उनले भने -"प्रवासमा पारिवारिक घटना, परिघटना, प्रवासी समुदायको विकास र नेपालको समग्र विकासका लागि समेत एनआरएनएहरुको आवश्यकता पर्ने भएको संस्थालाई कहिकतैबाट धमिलो बनाउन हुँदैन  । यसका लागि सबैको गहिरो प्रतिबद्धता अहिलेको आश्वयकता हो ।"

अध्यक्ष कँडेलले संघको स्थापना नै प्रवासमा भएका नेपालीहरुको एकता, सम्वृद्धि र सहकार्य तथा नेपालमा विदेशी लगानी मार्फत सम्वृद्ध नेपाल बनाउने भएको हुँदा यो बिषय हिजो, आज र भोलि पनि रहिरहने तर यसका लागि आवश्यक सर्त भनेको संघ विबाद रहित हुनुपर्ने बताए ।  अहिले संसारभरीका सुझबुझ भएका प्रवासी नेपालीहरुमा संघ प्रति विश्वास र भरोषा गुम्दै गैरहेको अवस्थामा यो अवस्थाबाट बाहिर आउन सबैले विश्वासको वातावरण श्रृजना गर्नुपर्नेमा उनको जोड छ। 

अध्यक्ष कँडेलले प्रवासमा रहेको नेपाली समुदायलाई गोलबद्ध बनाउन एनसिसिको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएको हुँदा केन्द्रमा देखिएको बिवादवाट विचलित नभएर निरन्तर रुपमा आफ्ना गतिविधिहरुलाई सक्रियतापूर्वक जारी राख्दै प्रवासी नेपाली समाजको एकता र सम्बृद्धि तिर पनि लाग्नुपर्ने बताए । 

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसका सम्वन्धमा अध्यक्ष कँडेलले आफुहरुले नेपाली समाज र नेपाललाई जोड्ने प्रयास अन्तर्गत एनआरएनए नेदरल्याण्डसको  दुई बर्षे कार्ययोजना निर्माण गरी उक्त कार्य योजनालाई अल्पकालिन र दीर्घकालिन गरी दुई भागमा विभाजन गरेर संघका गतिविधिहरु संचालन गरिरहेको बताए । 

कँडेलले अल्पकालिन अन्तर्गत संघका नियमित कार्यक्रमहरु जस्तै नेपाल र नेपालीहरुको साँस्कृतिक पहिचान र अधिकारका लागि मनाइने चाँड पर्वहरु दशै, तिहार लगायत अन्य जातीय पर्वहरु मनाउने गरेको, संघको कोष अभिबृद्धिका लागि च्यारिटी लगायत अन्य कार्यक्रमहरु आयोजना गर्ने गरेको, प्रवासी नेपालीहरुलाई नेपाल सरकार र नेदरल्याण्डस् सरकारद्धारा प्रदान गर्ने सेवा सुविधाकाबारेमा जानकारी लिने दिने गरिएको यसका लागि आफुहरुले तीन कुराहरु कर्तव्य, अधिकार र सम्बृद्धिलाई कसरी एनआरएनएद्धारा सहयोग गर्ने भन्ने बिषयलाई जोड्न खोजेको जानकारी दिए । 

त्यसैगरी अत्पकालिन गतिविधि अनुसार नेदरल्याण्डसमै  बस्ने नेपाली समुदायलाई राहदानी निर्माण, नविकरण र अन्य प्रशासनिक कामका लागि ब्रसेल्स जानु पर्ने बाध्यता भएकोमा नेपाली दुतावासको सहकार्यमा आफुहरुले कन्सुलर सेवाका लागि प्रत्येक ३-३ मा क्याम्प स्थापन गरेर नेपाली समुदाय लाभान्वित भइरहेको बताए ।  

त्यसैगरी अर्को कार्यक्रम अन्तर्गत नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार, प्रबर्धन, विकास तथा सामाजिक काममा सहकार्य र लगानी प्रवर्धन गर्ने उद्धेश्यले नेपाली दुताबास लगायत नेलरल्याण्डसमा रहेका सामाजिक संघसंस्थाहरुको सहकार्यमा नेपाललाई बुझौ, जानौ भन्ने नाराका साथ नेपाल डे मनाउन लागिएको र यसको तयारी अन्तिम चरण पुगेको उनले जानकारी दिए । 

कँडेलले यी लगायत संघले खाना महोत्सव, युवा पिढिलाई खेलकुद, अध्ययन र अनुसन्धानमा आकर्षित गर्न उत्प्रेरित तथा क्षमता अभिबृद्धि गर्ने जस्ता कार्य गर्ने जानकारी दिए । यतिमात्र हैन कँडेलका अनुसार नेदरल्याण्डसमा   दोश्रो पुस्ताले नेपालमा रहेका आफ्ना सन्तान र आफन्तहरुसंग नेपाली भाषामा दोहोरो संचार, संवाद, आत्मियता र सद्भाव स्थापित गर्न सकुन भन्ने उदेश्यले हाल नेपाल म्युजिक फाउण्डेशनद्धारा संचालित  नेपाली भाषा कक्षालाई आवश्यकता अनुसार सहयोग तथा परामर्श प्रदान गरिरहेको बताए ।

उनले भने “नेपाली भाषा कक्षाले ससाना भाइ-बहिनीहरुलाई नेपाली भाषा लगायत एक आपसमा जोडिन र नेपालका केहि मौलिक बिषयहरुमा जानकारी दिन सफल भइसकेको छ । यो समाजलाई अति नै आबश्यक रहेछ। "

त्यस्तै संघको दीर्घकालिन कार्यक्रम अनुसार नेदरल्याण्डसमा  नेपाल र नेपालीहरुको पहिचानलाई स्थापित गर्न र नेपाली लगायत अन्य समुदायबाट आयोजना गरिने कार्यक्रमहरुका लागि व्यवस्थित र मितव्ययी बनाउन “नेपाली घर” को आवश्यकता महशुस गरिएकोले उक्त अवधारणा अनुसार नेपाल घर निर्माणका लागि नेपाली समुदाय लगायत नेदरल्याण्डसमा  भएको डच समुदायसंग सहकार्यका लागि काम भइरहेको उनले बताए । 

“नेपाली घर” निर्माणका लागि बलियो र दरिलो आर्थिक श्रोतको आवश्यकता पर्ने हुँदा आफुहरुले नेदरल्याण्डसमा रहेका केहि प्रतिष्ठित व्यापारिक समुह र नेपाली व्यवसायीहरुलाई जोड्ने प्रयास गरेको र यसका लागि क्रेता र विक्रेताहरुबाट प्राप्त बोनस तथा छुट रकमको सानो हिस्सा संघमा आउने बताउँदै यसका लागि नेपाली व्यवसायीहरुको आत्मीय सहयोग र सहकार्यको अपेक्षा गरेको  उनको भनाइ छ । 

एक अर्को प्रसंगमा अध्यक्ष कँडेले भने “नेदरल्याण्डस्  सरकारले काठमाण्डौंबाट प्रदान गर्दै आएको कन्सुलर सेवा विगत लामो समयदेखि भारतको नयाँ दिल्लीवाट प्रदान गर्दै आएकोमा उक्त सेवा लिनका लागि दिल्ली जानु पर्ने अवश्था भएकोले यसवाट समय, श्रम र पैसा समेत खर्च हुने भएको हुँदा उक्त सेवा पुनः काठमाण्डौंवाटै शुरु गर्न नेदरल्याण्डस् सरकार समक्ष आग्रह गरेको र नेपाल सरकारलाई पनि सो सम्वन्धि तत्काल आवश्यक प्रकृया अगाडी बढाउन आफुहरुले गत फेब्रुअरीमा ज्ञापनपत्र दिएका छौ । यसका लागि दुबै सरकारलाई ध्यानाकर्षण गराई सकेका छौ” ।  

त्यस्तै दीर्घकालिन परियोजना अन्तर्गत प्रवासमा बस्ने नेपालीहरुको आफ्नो मातृभूमि प्रति दायित्व हुने भएकोले आफुहरुले विगतमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ससानो सहयोग गर्दै आई रहेकोमा यो पटक संघको तर्फवाट कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजकोट वा पश्चिम रुकुम क्षेत्रमा स्वाथ्य क्षेत्रमा सहयोग गर्ने योजना रहेको र यसका लागि स्थानीय समुदायसंग छलफल भइरहेको बताए ।  

“कुनै पनि संस्थाका गतिविधिहरु संचालन गर्न कोषको आवश्यकता पर्ने भएको हुँदा आफुले संघको नेतृत्व लिई सकेपछि संघको कोषमा क्षय नहुने गरी काम गरेको, बरु कोष अभिबृद्धिका लागि विभिन्न प्रयासहरु भइरहेको” अध्यक्ष कँडेलले बताए । उनले भने संघको कोष अभिबृद्धिका लागि सदस्यता शुल्क, निर्वाचनका क्रममा दरखास्त दिदा उम्मेदवारहरुबाट प्राप्त हुने रकम, च्यारिटी र व्यक्तिगत सहयोग नै संघको मुख्य आय श्रोत हुने भएकोले यी लगायत अन्य संघसंस्थाहरुको सहकार्य र सहयोगबाट आफुहरुले नेदरल्याण्डस् स्थित  नेपाली समुदाय र नेपालको विकास तथा सम्बृद्धिका लागि असर र प्रभाव देखिने गरी कार्यक्रमहरु संचालन गरिरहेको छौ । यो कार्यलाई निरन्तरता दिन्छौ । 

एक फरक प्रसंगमा अध्यक्ष कँडेलले भने “केन्द्रमा देखिएको विवादले सुझबुझ भएका प्रवासी नेपाली समुदायमा अवश्य पनि नैराश्यता र पीडा दिने काम गर्यो। केन्द्रीय विवाद एनसीसीमा समेत देखियो । यो दुर्भाग्यपूर्ण हो तर विवाद क्षणिक हुन्छन । यी विवादलाई व्यवस्थापन र नेपाली समाजलाई असर नपार्न एनसिसिले आफ्ना गतिविधिहरु मार्फत समाजमा आफ्नो उपस्थिति देखाउनु अहिलेको आवश्यकता हो । विवाद आउनुका कारण सबैले मनन गरेर विश्वास र समझदारीको वातावरण बनाउन सके दुई दशक पुरोनो संस्थाको गरिमा पुनः स्थापित हुनसक्छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्